श्रद्धाञ्जलीको लागि जोशीको शव आज कांग्रेस केन्द्रीय कार्यालयमा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

श्रद्धाञ्जलीको लागि जोशीको शव आज कांग्रेस केन्द्रीय कार्यालयमा



काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने भएको छ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको हो। गत फागुन १३ गते मष्तिष्कघात भएका जोशीको उपचारका क्रममै निधन भएको हो।

नेता जोशीको निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। आज बिहान ११:३० बजे केन्द्रीय कार्यालय सानेपामा आकस्मिक बैठक बोलाएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

यस्तै, नेता जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने भएको छ। शनिबार मध्याह्न १२ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालयमा राखिने कांग्रेस महामन्त्री शर्माले बताए। नेता जोशीको आजै दाहसंस्कार गरिने भएको छ।

नेता जोशीको निधनमा विभिन्न दलका नेताले एक निष्ठावान नेता गुमाएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। कांग्रेस सभापति शेबरहादुर देउवाले निष्ठावान नेता गुमाएको उल्लेख गर्दै कांग्रेस र देशलाई नै अपुरणीय क्षति भएको जनाएका छन्।

कांग्रेस नेता गगन थापाले नेता जोशीको निधनमा मर्माहत भएको जनाएका छन्। उनले भनेका छन्, ‘अत्यन्त मर्माहत भएको छु। नवीन्द्र दाइ हामीमाझ हुनुहुन्न भनेर पत्याउन सकिरहेको छैन। पार्टी संगठनका, विचार अनि विकासका थुप्रै कुरा सिक्न र सँगै काम गर्न बाँकी थियो। हामीले एक समन्वयकारी, सालिन नेता र विद्यार्थी कालदेखिका अग्रज मार्गदर्शक गुमाएका छौं। हार्दिक श्रद्धाञ्जली नवीन्द्र दाइ।’