स्वर्गीय नवीन्द्रराज जोशी: यस्तो छ राजनीतिक यात्रा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

स्वर्गीय नवीन्द्रराज जोशी: यस्तो छ राजनीतिक यात्रा



काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका नवीन्द्रराज जोशीको जन्म २०२० साल पुस २४ गते काठमाडौंमा भएको थियो।

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भइ राजनीतिक यात्रा सुरू गरेका जोशी नेविसंघका महामन्त्री पनि बनेका थिए। २०३६ सालमा नेविसंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका जोशी २०४० सालमा महामन्त्रीमा निर्वाचित भएका थिए।

यसैगरी स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका सचिवमा पनि उनी निर्वाचित भएका थिए। जोशी नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए ।

जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए । जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले र गणेशमान सिंहको जीवनीमा आधारित वीर गणेशमान चलचित्र समेत निर्माण गरेका थिए ।

जोशीले २०६४, ७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका थिए । उनी पहिलो संविधानसभामा नेपाली काँग्रेस प्रवक्ता र सीमा अध्ययन समितिको संयोजक बनेका थिए ।

दोस्रो संविधानसभामा संविधान जारी भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारमा उद्योग मन्त्री भएका थिए ।

अबको यात्रा आर्थिक समृद्धि भन्दै जोशीको अथक पहलमा २५ वर्षपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन नेपालमा आयोजना भएको थियो । मन्त्री हुँदा जोशीले बन्द उद्योग खोलाउने ,उद्यमशीलता युवा , उद्योगको विकास लगायत थुप्रै राम्रो काम गरेका थिए ।

उद्योग मन्त्री हुँदा जोशीले रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका थिए । उनका पालामा थुप्रै औद्योगिक अवरोधहरू हटाइ कानुनी सुधार पनि गरिएको थियो।

दुईपटक पार्टी केन्द्रीय सदस्य बनेका जोशी हाल पनि केन्द्रीय सदस्य थिए । मिजासिला ,बौद्धिक र क्षमतावान् नेता जोशी निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित थिए ।