व्यवहार परिवर्तन नगरे महामारी अझ खतरनाक हुने वैज्ञानिकको चेतावनी - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

व्यवहार परिवर्तन नगरे महामारी अझ खतरनाक हुने वैज्ञानिकको चेतावनी



एजेन्सी- मान्छेले अझैपनि आफ्नो व्यवहारमा सुधार नल्याउने हो भने भविष्यमा अहिलेको जस्तो महामारी बारम्बार भइरहने र अझ खतरनाक हुने वैज्ञानिकहरुको प्रमुख टोलीले चेतावनी दिएको छ । व्यापक रुपमा वातावरण विनाशका कामहरु नरोकेसम्म भाइरसहरु अझ बढी संक्रमक बन्दै जाने र अहिलेको भन्दा ठूलो क्षति पुर्याउने उनीहरुले बताएका हुन् ।

‘बायोडाइभर्सिटी एण्ड इकोसिस्टम सर्भिसेस, ‘आइपीबीइएस’ वेबसाइटको अन्तर सरकारी विज्ञान नीतिको प्लेटर्फममा प्रकाशित लेखमा सो समूहले अहिलेको कोभिड–१९ का लागि एक मात्र प्रजाति, मान्छे जिम्मेवार रहेको बताएको हो । त्यसमा थप भनिएको छ, “हामीसँग अहिलेका चुनौतिहरुको सामना गर्न अझै केही अवसरहरु बाँकी छन् जसले भविष्यको संकटबाट जोगिन पनि मद्दत पुर्याउनेछ ।”

प्रोफेसर जोसेफ सेटल, स्यान्ड्रा डियाज, एडुराडो र डाक्टर पिटर डेस्जेकले आइपीबीइएसको गत वर्षको ग्लोबल रिपोर्टप्रति सबैको ध्यान केन्द्रित गराएका हुन् जसमा आगामी दशकहरुमा कम्तीमा पनि १० लाख प्रजातिका बोटबिरुवा र वन्यजन्तु लोप हुने खतरामा रहेको निष्कर्ष निकालिएको छ ।

वैज्ञानिकहरुको भनाइअनुसार अहिलेको दरमा ठूलो स्तरको वन फडानी, कृषिको अनियन्त्रित विस्तार, तीव्र खेती, व्यापक रुपमा उत्खनन र संरचनाको विकासका साथै वन्यजन्तुको शोषणले मान्छेमा जङ्गली जनावरहरुबाट रोग सार्ने सबैभन्दा उत्तम वातावरण सिर्जना गराइरहेको छ ।

यसमा पनि संक्रमक रोगहरुबाट सबैभन्दा संवेदनशील समुदायमा यस्ता प्रकोप बारम्बार देखा परिरहने उनीहरुले बताएका हुन् । त्यसैले कोभिड–१९ त्यस किसिमको संकटको सुरुवात मात्र भएको उनीहरुले बताए ।

अहिले नै पृथ्वीमा स्तनधारी जीवजन्तु र पानीका चराहरुमा पाइने १७ लाख बढी पहिचान नगरिएका त्यस्ता भाइरसहरु छन् जसले मान्छेमा संक्रमण गराउन सक्छन् ।

यसबीच वैज्ञानिकहरुको सो टोलीले त्यो भयानक अवस्थाबाट जोगिन अहिलेदेखि नै केही नीति अपनाउन सुझाव पनि दिएको छ ।

यस अन्तर्गत वातावरणीय कानुनहरु कडाइपूर्वक कार्यान्वयन गर्न भनिएको हो । जसमा प्रकृतिलाई सकारात्मक असर पार्ने किसिमका गतिविधि र दिर्गकालीन नतिजा हेरेर मात्र वातावरणीय योजनाहरु ल्याउन उनीहरुले सुझाव दिएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि मानव स्वास्थ्य, जीवजन्तु, बोटबिरुवा अनि वातावरणबीचको जटिल अन्तरसम्बन्ध पहिचान गरि त्यसका आधारमा निर्णय गर्न उनीहरुले बताए ।

यसैगरी रोग फैलिने सबैभन्दा जोखिमपूर्ण मानिएका क्षेत्रका स्वास्थ्य प्रणालीमा पर्याप्त लगानी गर्न अनि यसमा स्थानीय समुदायसँग प्रभावकारी रुपमा सहकार्य गरि धेरै स्वास्थ्य संस्थाहरु स्थापित गराउन उनीहरुले भनेका हुन् ।