नेकपामा झन् ठुलो बबण्डर हुँदै
काठमाडौं- दुई समुहमा विभाजित नेकपाको अबको संघर्ष पार्टीको झन्डा, चुनाव चिन्ह र पार्टीको नामबार स्वामित्व कसले पाउने भन्ने झन् ठुलो बबण्डर सुरू हुँदैछ ।
प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्ष तथा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले छुट्टाछुट्टै केन्द्रिय समितीको बैठक राखेर नेकपाको बैधता दावी गरेसँगै अब दुइ पक्षबीच स्वामित्वको लडाँइ हुने देखिएको हो ।
मंगलबार नै प्रधानमन्त्री समेत रहेका ओलीले वालुवाटारमा आफुपक्षिय केन्द्रिय सदस्यहरुको भेला राखेर नेकपाको स्वामित्व आफुँसँगै रहेको उदघोष गरे ।
दाहाल नेपाल समूहको बैठक आधिकारिक नहुने भन्दै ओली पक्षिय भेलाले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट आज मात्रै प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना बसको बैठकको निर्णयको कुनै वैधानिकता नहुने जिकिर गरे ।
पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क थियो ।
हाल निर्वाचन आयोगको अभिलेख अनुसार नेकपाका केन्द्रिय सदस्यको ४४७ जना रहेको उल्लेख छ । त्यसमा केही सदस्यहरुको मृत्यु तथा विभिन्न निकायमा नियुक्तिका कारण संख्या केही कम भएको छ । त्यस अनुसार बहुमत सदस्य जुन पक्षमा हुन्छन् त्यहि अनुसार नेकपाको स्वामित्व रहने राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् ।
बहुमतलाई आधार मान्ने हो भने नेकपाको स्वामित्व दाहाल नेपाल पक्षले पाउने देखिन्छ । किनकी मंगलबारको दाहाल नेपाल पक्षिय भेलामा ३१० बढी केन्द्रिय सदस्यले हस्ताक्षर सहित उपस्थिती देखाएको उक्त समुहले दावी गरेको छ ।
झण्डै दुइ तिहाइ केन्द्रिय सदस्य उपस्थित भएपछि दाहाल नेपाल समुहले नेकपाको बैधता आफुहरुसँग रहेको बताएको छ भने ओली समुहको भेलालाई गुट भेला बताएको छ । ओली समुहले प्रवक्ताबाट हटाएपनि आफु कुनै समुहको नभएर नेकपाकै प्रवक्ता रहेको नारायणकाजी श्रेष्ठले बताएका छन् ।
यसअघि मंगलबार नै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए । आफ्नो पक्षमा केन्द्रिय सदस्यको संख्या न्यून हुने भएपछि एकाएक सयौंको संख्यामा केन्द्रिय सदस्य थपेर ओली पक्षले बहुमत देखाउन खोजेको दाहाल नेपाल पक्षको आरोप छ ।
यो बीचमा दाहाल नेपाल पक्षले स्थायी कमिटीको निर्णय तथा केन्द्रिय कमिटीको निर्णय निर्वाचन आयोगमा जानकारी गराएको छ भने ओली पक्षले पनि विस्तारित केन्द्रिय कमिटीको नामावली आयोगमा बुझाएको छ ।