साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन: रामकुमारी झाँक्री - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन: रामकुमारी झाँक्री



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई लगालग कारबाही गरेपछि एमालेका नेताहरू आक्रोशित बनेका छन् । माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेपछि नेताहरूले ओली विरुद्ध खुलेर बोल्न शुरू गरेका छन् ।

यस्तैमा नेकपा एमाले माधव नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले ‘साधुलाई सुली र चोरलाई चौतारो’ भन्दै आक्रोशित टिप्पणी गरेकी छन् । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेलगत्तै नेताहरू पाण्डे र भुसाललाई पनि बिहीबार कारबाही गरेका गरेपछि नेतृ झाँक्री आक्रोशित बनेकी हुन् ।

झाँक्रीले ओली पक्षको उक्त कदमप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेकी छन् ‘जसले पार्टी बनायो उसैलाई कारबाही ? साधुलाई सुली र चोरलाई चौतारो ?’

झाँक्रीले बिहीबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकतादेखि एकता भंगसम्म आयो। यी सबै नक्कली र निश्चित स्वार्थका लागि थिए, फेरि जसले पार्टी बनायो, उसैलाई कारबाही ! साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन।’

चेतावनी दिँदै अगाडि भनेकी छन्, ‘कसैको बुई चढेर जे गरिँदै छ त्यो गलत गरिँदै छ। हेक्का राखौं– बुई चढ्ने लड्छ। र, षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ।’