ओलीविरुद्ध अविश्वास प्रस्तावको लागि जसपाका बहुमत सांसद तयार
काठमाडौँ- जनता सामाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने तयारी गरिरहेकै बेला केन्द्रीय कार्यकारिणी समितिमा भने उपेन्द्र यादव बहुमतमा देखिएका छन् ।
अझै रोचक त के छ भने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेका छन् । वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको खुलेको छ ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष ठाकुरले तत्कालै कार्यकारिणी बैठक बोलाउन अस्वीकार गरेका थिए ।
जसपाका नेताहरुबीच केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउने विषयमा विवाद चर्किएपछि जसपाको ध्रुविकरण बढेको बताइएको छ । केन्द्रीय पदाधिकारीमा अहिले भट्टराई-यादव पक्षकै बहुमत छ ।
यस्तै जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको पनि भेटिएको छ । उपेन्द्र-बाबुराम पक्षमा १८ जना सांसद रहेको र कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएमा त्यो संख्या बढ्ने आंकलन गरिएको छ ।
वैशाख १४ गतेको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयमा २६ जनाको हस्ताक्षर रहेको भेटिएको छ । पार्टी एकीकरणका क्रममा तत्कालीन राजपाका २६ र समाजवादीका २५ जना गरी ५१ सदस्यको केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो।