जनार्दन भन्छन: मन्त्री नै नभएको बेलामा मेरो नाम श्वेतपत्रमा जोडियो - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

जनार्दन भन्छन: मन्त्री नै नभएको बेलामा मेरो नाम श्वेतपत्रमा जोडियो



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले आफूले नगरेको निर्णयमा नाम जोडेर प्रचार गरिएको भन्दै सरकारसँग जवाफ मागेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल ट्रस्टको जग्गा हिनामिनामा आफू गृहमन्त्री हुँदा निर्णय भएको आशय लाग्ने गरी श्वेतपत्रमा नाम उल्लेख भएको भन्दै आपत्ति जनाए ।

सरकारले फागुन १३ गते जारी गरेको श्वेतपत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनी उल्लेख गरिएको भन्दै शर्माले सो मितिमा आफू गृहमन्त्रीबाट हटिसकेको बताए ।

“०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम जोडिएको छ । थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनिएको छ । असोज ३० गते गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । त्यही दिन बिना विभागीय मन्त्री भएको हुँ ।

कर्मचारीले संलग्न छैनभन्दा भन्दै किन नाम लेखियो ? यो अश्वेतपत्र किन लेखियो होला ?” शर्माले भने “म गृहमन्त्री नै छैन । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? विश्वासको संकट प¥यो । यसको जवाफ चाहिन्छ मलाई । रक्षामन्त्री, प्रधानमन्त्रीबाट जवाफ चाहन्छु ।”

उनले श्वेतपत्रमा भएको कुरा जस्ताको तस्तै आउने भन्दै सरकारले श्वेतपत्र भन्दै जारी गरेको अश्वेतपत्र भएको बताए । आफूले राज्यव्यवस्था समितिमा संविधानको भावनाभन्दा बाहिर विधेयक आउँदा संशोधनका लागि लाग्ने गरेको र सरकार दलालहरूको घेराबाट बच्नुपर्छ भन्ने गरेकाले सोही कारण सरकारले तर्साउन खोजेको हो कि भन्ने आशंका व्यक्त गरे ।

“मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजिएको हो ? म कहिल्यै आत्मसमर्पण गर्दिन र तर्सिन पनि तर्सिँन्न । सरकारले मलाई त ढाँट्न सक्ला, ठग्न सक्ला । जनतालाई ठग्न सक्छ ?” शर्माले भने ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र आफू गृहमन्त्री रहेका बेला निर्णय भएको भन्दै प्रचारबाजी भएकोमा पनि असन्तुष्टि जनाए । समाचार आएपछि आफू नेपाल ट्रस्टको कार्यालयमा गएको र सो निर्णय भएको भनिएको माइन्युट हेर्न निवेदन दिए पनि नपाएको गुनासो गरे ।

उनले आफू गृहमन्त्री हुँदाका गृहसचिवलाई र ट्रस्टका कर्मचारीलाई आफ्नोपालामा भएको निर्णय हो त भनेर सोध्दा उनीहरूले होइन भनेको पनि बताए ।