रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि



काठमाडौँ । रौतहटमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरूको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल गौरका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको बताइएको छ ।

लकडाउनपछि नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको हो ।

अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।