मकवानपुरमा जहाज खसेको आशंका: आगोको मुस्लो देखियो - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

मकवानपुरमा जहाज खसेको आशंका: आगोको मुस्लो देखियो



काठमाडौं- मकवानपुरमा क्षेत्रको आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ ।

बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् ।

‘बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमाना क्षेत्रमा ठूलो आगोको मुस्लो आइरहेको छ’, बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेले सुनाए ।

आगोको मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिंडिसकेको पनि घिमिरेले जानकारी दिएका छन् ।

आगोको मुस्लो देखिएको स्थानमा केहि समयअघि प्लेन आएको देखिएको जानकारी दिंदै उनले भने, ‘प्लेन नै खसेको हुन सक्ने आशंका धेरै छ, हामीहरूबाट त्यो स्थान नजिकै पर्छ । प्रहरीको टोली हिंडिसकेको छ । आधिकारिक कुरा आउँला नै ।’

इपाखोलाको मुहान धार्केमा निजी हेलिकोप्टर दुर्घटना भएको खबर प्राप्त नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । द्रुतमार्ग निर्माणमा खटिएको सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिएका छन् ।

यसैबीच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले अहिलेसम्म कुनै दुर्घटनाको जानकारी नआएको बताउँदै नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको बताएका छन् ।