कम्युनिस्ट सिध्याउने भारतको प्लान, ओलीको कदम र चुनावको खेलो - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कम्युनिस्ट सिध्याउने भारतको प्लान, ओलीको कदम र चुनावको खेलो



काठमाडौं- नेपालमा बढ्दो कम्युनिष्ट लोकप्रियता भारतलाई कसैगरी पनि मनपरेको होइन । आफ्नो नाकैमुनि कम्युनिष्टहरूको दुई तिहाई बहुमत आउनु र ठूला कम्युनिष्टहरूवीच एकता हुनुले उनीहरूलाई पोल्नु पोलेको थियो । त्यसैले त्यो बेलादेखि नै कम्युनिष्टहरूलाई कसरी साइजमा ल्याउने भन्नेमा उसको ध्यान केन्द्रित रहेको बताइन्छ ।

सँधैको लागि टण्टै साफ गर्ने योजनाका साथ उसले नेपालका मुख्य दल तथा तिनका नेताहरूबाट व्यक्त गर्न लगाएको चुनावको रटान त्यसैको रोडम्याप हो भनिन्छ । कम्युनिष्टहरूको उर्लंदो लोकप्रियतालाई चुनावमै गएर तल पार्ने भारतीय योजना रहेकोमा कुनै शंका नभएको स्रोतले दाबी गरेको छ । स्रोत भन्छ ‘चुनावपछि नेपालको यसअघिको राजनीतिक गति करेक्सन गराउने दिशामा जाने उसको बुझाई हो । यस हिसाबले भारतको लागि यतिखेर भाइटल रोल नेपाली काँग्रेस र माओवादी दुबैको होइन । भाइटल भनेको मधेशी दल नै हो, अहिलेको लागि जसपाभित्रको पूर्वराजपा नै ।’

ओली सरकारको विकल्पमा विपक्षी दलहरूले नयाँ समीकरणको प्रयास गर्ने हो भने अरु सबै एकमुष्ठ एकातिर हुनैपर्छ ।

बयोबृद्ध महन्थ ठाकुरको महिनौंको कुदाईले पनि अहिले त्यही आशंकालाई प्रमाणित गरिरहेको छ । हुन तः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेशवादी दल जसपा फुटेर एउटा समूहले समर्थन गरेपनि सरकारको निरन्तरताको लागि आवश्यक बहुमत पुग्छ । उनीहरू सरकारको विपक्षमा नगए पुग्छ । तर,ओली सरकारको विकल्पमा विपक्षी दलहरूले नयाँ समीकरणको प्रयास गर्ने हो भने अरु सबै एकमुष्ठ एकातिर हुनैपर्छ । जसपामा फुट आउनै हुँदैन ।’

अदालतको फैसलापछि नेकपा टुक्रिएको भोलि २३ गते एक महिना पुग्दैछ । त्यसैको मुखमा एकपटक फेरि विपक्षी दलहरू नयाँ समीकरणको निम्ति जुर्मुराएको देखिन्छ । तरपनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छाँटकाँट देखाएका छैनन् ।

विश्वासको मत उनलाई बाध्यकारी पनि होइन । त्यो सबैभन्दा धेरै नैतिकतासँग जोडिएको विषय हो । नैतिकता बालुवाटारको निम्ति कुन चराको नाम हो जस्तै भएको छ । प्रधानमन्त्रीसँग राजनीतिक नैतिकता भएको भए सम्भवतः पुस ५ गतेको घटना नै हुँदैनथ्यो । त्यसैगरी फागुन २३ गतेपछि एमालेभित्र गरिएका निर्णय पनि कसैले देख्नुपर्दैनथ्यो ।

सर्वत्र आलोचना र विरोध हुँदा पनि प्रधानमन्त्री ओली र उनको समूह भविश्यप्रति ढुक्क देखिन्छ । स्रोत भन्छ-अबको दुई महिनामा चुनाव केन्द्रित बजेट बनाउने गरी कार्य गरिएकाले पनि प्रधानमन्त्रीमा एकखाले ढुक्कपन बढेको हो ।

अहिले त्यहि कुरोको सुईंको पाएपछि नेपाली काँग्रेसभित्र तीब्र मतभेद उत्पन्न भएको छ । चुनाव चुनावको मात्रै रटान लगाउँदा जेठ १५ गते प्रधानमन्त्रीको एकपक्षीय योजना र कार्यक्रम समेटेर बनाइने आगामी बजेटलाई बोकेर काँग्रेस कसरी मङ्ग्सिरको चुनावमा जाने ? काँग्रेसको हालत के हुने ? भनेर शुक्रबार साँझको बैठकमा सदस्यहरूले कुरो उठाएपछि सभापति शेरबहादुर देउवा हच्किएको बताइन्छ ।

अस्तिको बैठकमा सदस्यहरूले सभापतिलाई चर्को स्वरमा सोधेका थिए -“ओलीले गराउने चुनाव स्वच्छ र निष्पक्ष हुन्छ भन्ने के ग्यारेण्टी ? धाँधलीरहित हुन्छ भन्ने सुनिश्चितता नभएसम्म काँग्रेसले चुनाव जित्ने परिकल्पना नगरे पनि हुन्छ । त्यस्तो अवस्थामा त्यो चुनाव होइन सत्ता कब्जाको माध्यम हुनेछ ।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले काँग्रेसलाई बहुमत दिलाउन चुनाव गराइदिन्छन् भनेर सोच्नु नै मूर्खता हुने उनीहरूले बैठकमा बताएका थिए । त्यहि सन्दर्भमा उनीहरूले भने ‘काँग्रेसले एक पटक सोच्नुपर्यो । प्रधानमन्त्रीको पार्टी विभाजनको अवस्थामा छ, उनी स्वयम् अलोकप्रिय छन्, माओवादीसँगको एकता टुटेको बेला मंसिरमा चुनाव भन्नुलाई अर्थपूर्ण ढंगले हेर्नपर्ने जनआस्थाले लेखेको छ।