के भारत गलेको हो ? - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

के भारत गलेको हो ?



काठमाडौं- वार्ताका लागि जहिलेपनि आनाकानी गरिरहने भारत नयाँ नक्सा सार्वजनिक गरेलगत्तै लाईनमा आएको छ । नेपाल सरकारले बुधबार मात्र सार्वजनिक गरेको नक्सा आफूहरूलाई स्वीकार्य नभएको भन्दै भारतले वार्ताको विषय उठाएको छ ।

नयाँ नक्सा जारी गरेकै दिन भारतले आपत्ती जनाउँदै वार्ताको विषय उठाएको हो । नेपालले नयाँ नक्सामा समेटेका भुभाग भारतको रहेको दाबी मात्र गरेको छैन उल्टै चीनको आडमा भारतविरुद्ध लागेको आरोप समेत लगाएको छ ।

नेपालले धेरैपटक वार्ताको लागि कुरा लैजाँदा सधै टार्ने भारतले भने यसपाली आफैले वार्ताको कुरा निकालेपछि यसलाई अर्थपूर्ण मानिएको छ । नक्सा नस्वीकार्ने कुरा गरिरहँदा भारतले कुटनीतिक वार्ताको विषय उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा भारतको औपचारिक धारणा सार्वजनिक गर्दै भनिएको छ, ‘हामी आशा गर्छौं कि नेपालका नेताले विद्यमान सीमाका विषयमा उठेका विषयको समाधानका लागि कुटनीतिक वार्ताको सकारात्मक वातावरण बनाउनेछन् ।’ धारणामा भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न समेत भनिएको छ ।

भारतले कुटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउन भन्नुलाई भने अलि फरक रूपले लिन सकिन्छ । उसले बुधबार जारी गरिएको नक्साबारे उल्लेख गर्दै यो कदमलाई विद्यमान सीमाका विषय कुटनीति वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिको विरुद्ध हुने भनेको छ । यसको अर्थ भारतले अब सीमाको विषयमा कुटनीतिक वार्ताका लागि शर्त अगाडि सार्न सक्छ ।

भारतले चीनसँग जोड्ने सडक लिपुलेक हुँदै खोलेपछि नेपालमा सर्वत्र विरोध हुँदै आएको छ । त्यसको नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाइसकेको छ । भारतीय राजदुत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलाएर कुटनीतिक नोट दिएका छन् ।

नेपालले मन्त्रिपरिषद बैठकबाट लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको राजनीतिक र प्रशासनिक नक्सा पारित गरेर बुधबार औपचारिक रुपमा जारी गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा नेपालको भुमि फिर्ता ल्याएरै छाड्ने अठोट गरेका थिए । उनले भारतको चर्को आलोचना समेत गरेका थिए ।