भेन्टिलेटर र आइसियूको अभाव: संक्रमित बढ्दा के गर्ने ?
काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ।
यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुने खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।
संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।
हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन्।
काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । काठमाडौंमा ४ सय २९, ललितपुरमा ९६ र भक्तपुरमा ५७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको उमेर समूह १६–५५ वर्ष रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो।
लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् । उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ।
सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो । तर, अब बिस्तारै दैनिक लक्षण देखिएपछि बिरामीहरु अस्पताल पुग्ने गरेको र कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि हुने गरेको पाइएको छ।
लकडाउन पूर्णतः अन्त्य भएपछि २ हजार २ सय ४१ जना संक्रमित थपिएका छन् । लकडाउन हटेपछि थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।