राति ९ बजेदेखि ५ बजेसम्म हिँडडुल गर्न प्रतिवन्ध
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणाका लागि सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।
‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन भोलि मिति २०७७/४/२२ गतेदेखि लागुहुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, प्रवक्ता बुढाले भने, ‘यस वर्गमा पर्ने जिल्लाका सहरी इलाकामा जिल्ला भित्रसमेत बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमन बन्द गर्ने ।’
यस विषयमा गृहमन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन दिएको उनले जानकारी दिए ।
गृहमन्त्रालयको विज्ञप्ति जस्ताको तस्तै
प्रेस विज्ञप्ति
कोभिड-19 को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि देहाय बमोजिमको निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक व्यवस्था हुन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ।
१. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने। मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने। जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्चालक समेतलाई कारवाही गर्ने।
२. काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका 7:00 बजेदेखि विहान 7:00 बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने। काठमाण्डौ उपत्यका र कोभिड-19 को 200 भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति 2077/04/22 गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने। यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत बेलुका ९:00 बजेदेखि विहान 5:00 बजेसम्म आवागमन बन्द गर्ने।
३. कोभिड-19 को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-19 को थप परीक्षणको व्यवस्था मिलाउने।
४. नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने।
५. होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्ने।