गोपाल किरातीको आपत्ति:‘प्रचण्ड एण्ड कम्पनीलाई धन्यवाद’ - Himal Post Himal Post
  • २ मंसिर २०८२, सोमबार
  •      Mon Nov 17 2025
Logo

गोपाल किरातीको आपत्ति:‘प्रचण्ड एण्ड कम्पनीलाई धन्यवाद’



काठमाडौं। बिहीबार साँझ बसेको माओवादी केन्द्र कार्यालय बैठकले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले आपत्ति जनाएका छन्।

शुक्रबार बिहानै विज्ञप्ति सार्वजनिक गर्दै किरातीले आपत्ति जनाएका हुन्। बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुती’ र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो।

‘सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ’,

किरातीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो।’

उनले प्रचण्डले माओवादी पुर्नगठन गर्नुपर्ने कारणबारे एक पटकपनि सुनुवाइको मौका नदिउको प्रति समेत आपत्ति जनाएका छन्।

‘माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो’, विज्ञप्तिमा थप भनिएको छ, ‘अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो।’

सँगै प्रचण्डसहितका नेता एमालेकरण भइसकेकाले माओवादीमा नभएको भन्दै किरातीले अब प्रतिक्रान्तिकारी हर्कतविरुद्ध सबैलाई जुट्न समेत आह्वान गरेका छन्। ‘एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु’, किरातीले थप भनेका छन्, ‘पार्टी पुनर्गठनमा सहयोग गर्न सबै देशवासीमा विशेष अपिल गर्दछु।’