गोकर्ण विष्ट भन्छन: सरकार, श्रमिकहरुले दुख नपाउन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

गोकर्ण विष्ट भन्छन: सरकार, श्रमिकहरुले दुख नपाउन



काठमाडौं- पूर्वमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकर्ण बिष्टले जोखिमपूर्ण अवस्थामा रहेको श्रमिकले दुख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै विष्टले जोखिमपूर्ण अवस्थामा रहेको श्रमिकहरूको विवरण तयार गरेर उनीहरूले काम गर्ने संस्थालाई समेत जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

विष्टले केही दिनयता श्रमिकका समस्याका बारेमा समाचार आइरहेको बताउँदै बाटोमा अलपत्र परेका श्रमिकहरूको उचित प्रबन्ध गर्न सरकारले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

‘सञ्चार माध्यमहरूमा विगत केही दिन यता श्रमिकका समस्याहरूको बारेमा विभिन्न समाचारहरू आइरहेका छन्,’ बिष्टले लेखेका छन्, ‘यस्तो अवस्थामा कुन कुन क्षेत्रमा काम गर्ने श्रमिकहरू बढी जोखिमपूर्ण अवस्थामा छन्, त्यसको विवरण तयार गर्न, उनीहरूले काम गरिरहेको सम्बन्धित क्षेत्रलाई समेत जिम्मेवार बनाउन, श्रमिकहरूको बसोबास रहेको सम्बन्धित स्थानीय तह मार्फत खाने बस्ने कुराको भरपर्दो व्यवस्था मिलाउन र बाटोमा अलपत्र परेका श्रमिकहरूलाई सहयोगको उचित प्रबन्ध गर्न सरकारले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु जरुरी छ ।’