घरभाडामा घरबेटीहरुको ब्रह्मलुट: नियन्त्रण गर्न माग - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

घरभाडामा घरबेटीहरुको ब्रह्मलुट: नियन्त्रण गर्न माग



काठामाडौं- घरबहाल सरोकार महासंघ नेपालले घरभाडामा घरबेटीहरुले ब्रह्मलुट मच्चाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेको छ।

संघले कानुन संशोधन गरेर घरभाडा नियन्त्रण गर्न सरकारसँग माग समेत गरेको छ। घरभाडामा घरबेटीहरुले ब्रह्मलुट मच्चाइरहेको भन्दै महासंघले नियन्त्रणको माग गरेको हो।

महासंघले कोरोना भाइरसको प्रकोपले घरभाडामा बस्नेहरु झन पीडित भएको उल्लेख गर्दै घरभाडामा तत्काल ५० प्रतिशत छुट गराउन सरकारले वातावरण बनाउनुपर्ने माग पनि गरेको छ।

कोरोना सन्त्रासका कारण बजार मूल्यवृद्वि आकासिएको, कालोबजारी मौलाएको र व्यापार तथा व्यवसायमा समेत ठूलो असर परेको उल्लेख गर्दै महासंघले घरबहालमा बस्नेहरु झनै पीडित भएको र यसमा सरकार गम्भीर हुनुपर्ने बताएको छ। महासंघले घर बहालमा ५० प्रतिशत छुट दिलाउनको लागि सरकारले आवश्यक कदम नचाले आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ।

रिपोर्टर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा घरबहाल सरोकार महासंघका अध्यक्ष बलभद्र खनालले सरकार र सरोकारवाला एकजुट भएर घरभाडा नियन्त्रण गर्नुपर्ने बताए। यसको लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे। ७० प्रतिशत नागरिक घरबहालमा बस्दै आएको बताउँदै खनालले बहालवालाहरुको समस्या बुझिदिन सरकारलाई आग्रह गरे।

सम्पूर्ण घरधनीलाई बहालमा बस्न आउने व्यक्तिको बारेमा बुझेर बहाल दिन पनि उनले आग्रह गरे। घरबहाल ऐन तत्काल संशोधन गर्न अध्यक्ष खनालको माग छ। उनले भने, ‘इन्जिनियरलाई काउन्सिलबाट प्रमाणपत्र दिएजस्तै घर व्यवसायीवालालार्ई समेत प्रमाणपत्र दिन आवश्यक छ।’ घरबहाललाई राष्ट्रिय नीति बनाउन आवश्यक रहेको उनको भनाई थियो।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उपाध्याक्षद्वय यमनाथ पौडेल र केदारनाथ तिमिल्सेना, महासचिव श्रीराम गिरीलगायतले वर्तमान सरकार आफूहरुको मागप्रति गम्भीर नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए। सरकार र सरोकारवालहरु एकजुट भएर उक्त विषयप्रति अगाडि आउन जरुरी रहेको उनीहरुको भनाई छ। ‘हामी सबै घरधनी हौँ, हामी सबै घरबहाल हौँ’ भन्ने भावनासहित कानुन ल्याउन उनीहरुको माग थियो।