अब लकडाउन रहेसम्म घरभाडा मागे घरबेटीलाई कारबाही - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

अब लकडाउन रहेसम्म घरभाडा मागे घरबेटीलाई कारबाही



काठमाडौं- शहरी क्षेत्रममा घरभाडामा बस्ने भाडावालसँग भाडा नमाग्न सबै घरधनीलाई सरकारले आग्रह गरेको छ । लकडाउन अवधिभरको लागि सरकारले यस्तो योजना ल्याएको हो ।

विहिबार मन्त्रीपरिसदको निर्णय सार्वजनिक गर्दै सुचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनिहरुलाई आग्रह गरेका हुन् ।

कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्ने गरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो ।

त्यस्तै, यसअघि सरकारले गरेको एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धीत घर धनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडी बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

गत महिना कोरोनाको प्रारंभिक आर्थिक असर संवोधन गर्न भन्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा वस्ने असंगठित श्रमिकहरुलाई एक महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई सरकारले आग्रह गरेको थियो ।