गजुरेलले भने: अब यो सरकारको खैरियत छैन - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

गजुरेलले भने: अब यो सरकारको खैरियत छैन



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा अतिक्रमणबारे उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन आइतबार सिंहदरबार जानेक्रममा आफूहरुलाई पक्राउ गरिएकामा आपत्ति जनाए ।

‘हिजोको घटना पूर्वानुमानभन्दा बाहिरको घटना हो । हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं । तर, प्रहरी ज्यादती भयो । हाम्रा साथीहरुमाथि अन्धधुन्द लाठीचार्ज भयो’–उनले भने ।

रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनेर समय लिएर नै आफूहरु त्यसतर्फ गएको उनको भनाइ छ ।

प्रहरीले ‘माथिको आदेश’ भन्दै आफूहरुमाथि धरपकड गरेको बताउँदै उनले अन्धाधुन्द लाठीजार्च गर्दा आफूहरुतर्फका ८ जनाभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको दाबी गरे ।

‘भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेपछि अहिले नेपालमा पार्टीहरु, विभिन्न संघ–संस्था, बौद्धिक व्यक्तिहरु, ख्यातिप्राप्त कलाकारहरुले पनि विरोध गरे । हामी पनि विरोधमा उत्रिएका थियौं । पछिल्लो समय यो शिथिल भएको थियो । हामीले फेरि यो विषयलाई उठायौं–‘गजुरेलले भने–‘सरकारले कतै यो विषयलाई दबाएर लैजान चाहेको थियो होला, हामीलाई त हिजोको सरकारी कदमबाट यो आशंका पैदा भएको छ ।’

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको व्यानर च्यातिएको उनको जिकिर छ ।

उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए ।

आफूहरुका लागि राष्ट्रियताको मुद्दा नै प्रधान भएको गजुरेलले सुनाए ।

‘हाम्रो लागि देश ठूलो कुरा हो । राष्ट्रिय स्वाधिनताको रक्षा हाम्रो पार्टीको पहिलो उद्देश्य हो । कालापानी, लिम्पियाधुरा, लिपुलेक ‘हाम्रो हो’ भनेर भन्न पाइँदैन ? यसो भन्दा हामीले के अपराध गर्‍यौं ?’–उनको प्रश्न छ ।

माइतीघर मन्डलामा पुसको जाडोमा सर्लाहीका उखु किसानहरु आन्दोलित भएको भन्दै उनले वर्तमान सरकारलाई त्यो सुन्ने धैयर्ता नभएको जिकिर गरे ।

नेपाल अमेरिकाको सामरिक रणनीतिमा सामेल हुँदा नेपालको असंलग्नताको नीति भत्किने पनि उनको टिप्पणी छ ।

उनले नेपाललाई विदेशीको रणभूमि हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

सबै नेपाली एकजुट भएर लागे कालापानीबाट भारतीय सेना हटाउन सकिने उनले उल्लेख गरे ।

देश बचाउने आन्दोलन गर्दा आइतबार आफूहरुमाथि गरिएकोजस्तो व्यवहार नदोहोर्‍याउन उनले चेतावनीसमेत दिए ।

‘हिजोको घटना दोहोर्‍याए यो सरकारको खैरियत छैन’–उनले भने ।

गजुरेलसहित क्रान्तिकारी माओवादीका केही नेता–कार्यकर्तालाई प्रहरीले आइतबार सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो । सोमबार बिहान उनीहरुलाई छाडिएको हो ।

उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।