गगन थापाको प्रस्ताव: एसईई खारेज गरौं
काठमाडौँ- सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा(एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आफ्नो विचार राख्दै थापाले एसईई खारेज गर्ने राम्रो मौका आएको बताएका हुन् ।
‘मेरो विचारमा यो एसईई खारेज गर्ने राम्रो मौका हो, एसईई परीक्षा खारेज गरौं हामीलाई यो ढाँचाको परीक्षा चाहिँदैन,’ थापाले भने । कक्षा १२ मा बोर्ड परीक्षा हुने भएकाले एसईई ढाँचाको परीक्षा आवश्यक नरहेको थापाले बताए ।
त्यस्तै सांसद थापाले कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण विद्यालयहरु बन्द भए पनि विद्यार्थीहरुलाई अन्तरक्रियात्मक क्रियाकलापमा सहभागी गराउन सकिने बताए । विभिन्न देशमा सुरक्षा सावधानी अपनाएर विद्यालय खोलिएको उल्लेख गर्दै विज्ञहरुको सुझावबमोजिम चल्न शिक्षा मन्त्रालय र सरकारलाई उनले सुझाव दिए ।
‘भियतनाममा भाइजर लगाएर नै विद्यार्थीलाई विद्यालय लगिएको छ । वुहानमा विश्वविद्यालयहरु खुलेका छन्,हाम्रोमा के गर्ने भन्ने विषयमा व्यापक छलफल गरेर निर्णय लिऔं,’ थापाले भने । समितिको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल आएको भए राम्रो हुने भन्दै उनले धेरैभन्दा धेरै विज्ञहरुको सुझाव लिएर उपयुक्त कदम चाल्नुपर्ने बताए । शिक्षामन्त्री पोखरले मन्त्रिपरिषद्को बैठकका कारण समितिको बैठकमा उपस्थित भएका थिएनन् ।
त्यस्तै विद्यालय बन्द हुँदा भौतिक रुपमा मात्रै शिक्षक र विद्यार्थीबीच उल्लेख गर्दै सांसद थापाले विद्यालयबाहिर पनि सिक्ने सिकाउने वातावरण सिर्जना गर्न सकिने बताए । शिक्षक र विद्यार्थीबीच भेटघाट नहुँदासम्मका लागि के गर्ने भन्ने योजना बनाउन पनि उनले सुझाव दिए । अवस्था सामान्य नहुँदासम्मका लागि विद्यार्थीलाई विभिन्न माध्यममा अन्तरक्रियामा सहभागी गराउन सकिने तर विद्यालयबाटै सिकाएजस्तो सिकाउन नसिकने थापाले बताए । यो बेलामा सबै विषय नपढाएर कुनै विषयमा केन्द्रित गर्दा राम्रो हुने पनि उनले सुझाव दिए ।
सरकारले लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको हो । तर कोरोना संक्रमण बढ्दै गएका बेला लकडाउन कहिले खुल्छ भन्नेचाहिँ निश्चित छैन ।