गगन थापाले भने: सीमा नाका पूर्ण रुपमा बन्द गरौँ
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले नेपाल–भारत नाका बन्द गर्न माग गरेका छन् ।
थापाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाकामा आवतजावतका लागि निश्चित समय तोक्नुपर्ने र बाँकी समय पूर्ण रुपमा बन्द गर्नगरी तत्काल कदम चाल्न सरकारसँग माग गरेका हुन् ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई मेन्सन गर्दै यस्तो बताएका हुन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल भारत सिमानामा आवतजावतका लागि निश्चित सीमा तोकेर बाँकी नाकालाई पूर्ण रुपमा बन्द गरौं । खुला नाकाबाट प्रवेश गर्ने प्रत्येकको विवरण संकलन गरौं । परीक्षण गर्न पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था तथा शंकास्पदलाई अलग राखेर थप परिक्षण गर्ने व्यवस्था गरियोस् ।’