गगन र विश्वप्रकाशको अनौठो जोडी: विद्यार्थी कालदेखि एकले अर्कालाई माग्थे मत
काठमाडौं- गगन थापा र विश्वप्रकाश शर्मामा धेरै समानता छ । यी दुबै नेता तत्काल धारणा बनाउन सक्छन, प्रस्ट विचार राख्न सक्ने कौशलले लोकप्रिय छन् । दुबै कुनै वंश र विरासतभित्रका नेता होइनन्, आफ्नो मिहिनेतले स्थापित भएका नेता हुन् । धेरै समानता भएका थापा र शर्मा १४ औँ महाधिवेशनबाट समान कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका छन्।
खसेको मतको दुइ तिहाइ भोटटसहित गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित हुँदा प्यानल–प्रतिस्पर्धाको दौडमा कमजोर मानिएको प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दिएर विश्वप्रकाश सोही पदमा विजयी भए । हाल सौहार्द सम्बन्ध भएका यी दुई नेता महामन्त्री बनेपछि पार्टीलाई रुपान्तरण गर्ने विषयमा कस्तो सहकार्य गर्लान् धेरैको चासो त्यता केन्द्रित भएको छ ।
महामन्त्रीमा फरक-फरक प्यानलबाट उम्मेदवार बनेका यी दुईले एक-अर्काका लागि मत पनि मागेका थिए । विश्वप्रकाशले गगनका लागि मत माग्दै भिडियो नै बनाएका थिए भने गगनले पनि व्यक्तिगत रूपमा प्रतिनिधिहरूसँग विवेक प्रयोगको आग्रहसहित शर्मालाई सहयोग गर्न भनेका थिए । विश्वप्रकाशले गगनलाई मत दिनुपर्ने तीन कारण भन्दै भिडियो बनाएका थिए । यता, मतदानस्थलमा प्रतिनिधिहरूलाई भेट्दा विश्वप्रकाश भन्थे, ‘एक भोट भाइलाई, एक भोट गगनलाई ।’
विश्वप्रकाश र गगनको सहकार्य नेपाल विद्यार्थी संघदेखि हो । नेविसंघको आठौँ महाधिवशेनबाट विश्वप्रकाश सभापति बनेका थिए । गगन उनको उपसभापति थिए । १३ औँ महाधिवशेनमा कांग्रेस रुपान्तरणका लागि भन्दै बनेको युवा नेताहरूको गठबन्धनमा यी दुई सँगै थिए । पछि सभापति शेरबहादुर देउवाले प्रवक्ता बनाउने भएपछि यो कित्ता छोड्दा उनको आलोचना पनि भएको थियो ।
गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भएपछि अब पार्टीभित्र युवाहरूको आवाज प्रधान हुने तिवारीको आशा छ । उनीहरू निर्वाचित भएसँगै पार्टीभित्र भागबन्डाको नभएर विचारको राजनीति सुरु हुने उनी बताउँछन् । पार्टीभित्रको राजनीति अब परिवर्तन हुने भन्दै दुई नेताबीचको सहरकार्यबारे तिवारी भन्छन्,’यी दुई नेताबीचको सहकार्य निकै प्रतिस्पर्धात्मक हुनेवाला छ । कांग्रेसमा अब भागबण्डा होइन एजेण्डा हाबी गराउन दुई नेताबीच प्रतिस्पर्धा देखिन्छ ।’
नेता थापाले कांग्रेसको महामन्त्री चानचुने नभएको भन्दै पार्टीको राजनीतिक प्रस्तावकका रुपमा आफू अघि बढ्ने योजना सुनाएका थिए । ‘कांग्रेसको महामन्त्री कुनै चानचुने पद होइन, गणेशमान सिंह र गिरीजाप्रसाद कोइराला बसेको पद हो । पार्टीको राजनीतिक प्रस्तावक महामन्त्री हो । म पार्टीको राजनीतिक प्रस्तावक बन्नेछु,’ उम्मेदवारी घोषणामा उनले भनेका थिए ।
यता विश्वप्रकाशले पद ओगट्ने पद्धतिलाई परिवर्तन गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । नेविसंघको ५० वर्षे इतिहासमा विधान अनुसार २ वर्षे कार्यकाल पुरा गरेपछि सहज नेतृत्व हस्तान्तरण गर्ने उनी एक्लो नेता हुन् । ‘पार्टीमा १० प्रतिशत युवा केन्द्रीय सदस्य र पद ओगट्ने परिपार्टीको अन्त्य मेरो एजेण्डा हो,’ अवधारणा पत्रमा उनले भनेका थिए ।
महामन्त्री पद राजनीतिक प्रस्तावक मात्रै नभएर संगठनात्मक कार्यमा क्रियाशील पद पनि हो । राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम अब यी दुई विषयमा गगन र विश्वप्रकाशले एकले अर्कालाई निषेध गर्छन् वा सहमतिमा अघि बढ्छन् भन्ने विषयमा कार्यविभाजनमा निर्भर रहेको बताउँछन् । ‘कांग्रेसमा यी दुबै नेता आशा लाग्दा रुपमा हेरिन्छ । महामन्त्रीमा निर्वाचित भएपछि यिनीहरूको सहकार्य कस्तो होला भन्ने कुरा कार्यविभाजनले मात्रै प्रस्ट पार्छ,’ उनले भने ।
यता महामन्त्री विश्वप्रकाश शर्मा आफूहरूबीच कांग्रेसलाई रुपान्तरण गर्ने सवालमा हार्दिकतापूर्ण सहकार्य हुने बताउँछन् । ‘परिस्थितिले हामीलाई फरक प्यानलमा उभ्यायो, कांग्रेस रुपान्तरणको सवालमा हामी एकै ठाउँमा उभिएर हार्दिकतापूर्वक सहकार्य गर्नेछौँ । एकता उत्साह र रुपान्तरणको नारालाई सफल बनाउन हाम्रो भूमिका हुनेछ,’ उनले भने,’ यो गुटको जीत होइन् । समग्रमा नेपाली कांग्रेसको जीत हो ।’