गच्छदारलाई १५ दिनको म्याद
काठमाडौं– विशेष अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध १५ दिने म्याद जारी गरेको छ ।
सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएका गच्छदारलाई १५ दिनभित्र अदालतमा हाजिर हुन भन्दै म्याद जारी गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
प्रवक्ता पाण्डेका अनुसार अहिलेसम्म गच्छदारसहित ७४ जना प्रतिवादीविरुद्ध म्याद जारी भइसकेको छ ।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित परिवारका व्यक्ति, गैर आवासीय नेपाली संघसहित विरुद्ध म्याद जारी गरेको हो ।
उक्त प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ र छविराज पन्तविरुद्ध पनि म्याद जारी गरिसकेको छ ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते १ सय १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त प्रकरणमा अन्य ६५ व्यक्ति तथा संस्थालाई सम्पत्ति तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।