बालुवाटार जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

बालुवाटार जग्गा प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो ।

यो प्रकरणमा अख्तियारले गच्छदारसहित अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारले तत्कालीन सचिव शारदा प्रसाद त्रिताल संयोजकत्वको छानबिन समितिको प्रतिवदेन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को अनुसन्धान प्रतिवेदन विस्तृत अध्ययनपछि मुद्दाको फाइल विशेष अदालतमा लगेको हो ।

सीआइबीले बालुवाटारको सरकारी जग्गा व्यक्तिलाई बेच्ने काममा जग्गा दलालहरु रामप्रसाद सुवेदी र शोभाकान्त ढकालले प्रमुख भूमिका खेलेको जनाएको छ ।

अख्तियार स्रोतका अनुसार यो प्रकरणमा तीनजना पूर्वमन्त्रीहरु गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्ने अभियुक्तहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो ।

यो प्रकरणमा सीआईबीले तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल र बाबुराम भट्टराईको दोष नरहेको निचोड निकालेको छ ।

सीआईबीले सरकारी निर्णयलाई सही ठहर गर्दै तर कर्मचारीहरुले भूमाफियासँग मिलेर बालुवाटारको जग्गा विक्री गरेको प्रतिवेदन सरकारलाई दिएको थियो ।

बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाले मिलेर विक्री गरेको सीआईबीको ठहर छ ।