अब फुकेरै पत्ता लाग्नेछ कोरोना संक्रमण
एजेन्सी- विश्वब्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरसको बढ्दो प्रकोप फैलिरहेका बेला यसको न्युनिकरणका लागि विश्वका धेरैजसो मुलुकहरुले परीक्षणमा जोड दिएका छन । मुल्य र समयको हिसाबले अहिले कोरोना परीक्षण चुनौतिको विषय बनेको छ । यसको समाधानका लागि थुप्रै मुलुकका वैज्ञानिकहरुले प्रयास गरिरहेका छन ।
जसअनुसार कम मुल्य लाग्ने र छोटो समयमा परिणाम देखाउने किट निर्माणको क्रम पनि बढिरहेको छ । यसै सन्दर्भमा इजरायलको बेन गुरियन युनिभर्सिटीले निकै आशा लाग्दो खबर दिएको छ । त्यहाँका वैज्ञानिकहरुले एक इलेक्ट्रो–अप्टिकल कोरोना परीक्षण किट तयार पारेका छन । यसले एक मिनेटमा परिणाम दिन्छ ।
वैज्ञानिकहरुले यो किटको विश्वसनीयता ९० प्रतिशत रहेको दावी पनि गरेका छन । यो किटमा कोरोना परीक्षणका लागि नाक, घाँटी र सासबाट नमुना लिईन्छ । यीनै तीन प्रकारका नमुना परीक्षणबाट कोरोना संक्रमण भए नभएको पत्ता लगाइन्छ । लक्षण नदेखिएका ब्यक्तिको परीक्षणमा पनि यो किट अब्बल सावित भएको छ । वैज्ञानिकहरुका अनुसार यो किटमा एक विशेष प्रकारको सेंसर जडान गरिएको छ ।
जसले कोरोना भाइरसको पहिचान सजिलै गर्न सक्छ । यो किटमा जब कुनै ब्यक्तिले फुक्छ, उसको सासको माध्यमबाट निस्कने अत्यन्तै मसिना थुकका कणहरु मार्फत भाइरस किटको सेन्सरसम्म पुग्छ । किटमा रहेको संन्सरसंग क्लाउड सिस्टम जोडिएको हुन्छ । यहि सिस्टमले तत्काल विश्लेषण गरि कोरोना संक्रमण भए नभएको जानकारी दिन्छ । वैज्ञानिकहरुका अनुसार यो किटको मुल्य अहिले प्रचलित पीसीआर परीक्षणको तुलनामा निकै सस्तो छ ।
बेन गुरियन युनिभर्सिटीका वैज्ञानिक ग्याबी सरुसीका अनुसार कोरोना भाइरसको कण नानो पार्टिकल जस्तै हुन्छ । जसको आकार १०० देखि १४० नानोमिटरको हुन्छ । अहिलेसम्म उपलब्ध पीसीआर किटले कोरोना भाइरसको आरएनए र डिएनएको पहिचान गरी रिपोर्ट दिन्छ । यसको प्रकृया घण्टौं लामो हुन्छ ।
त्यस्तै ईजरायली वैज्ञानिकहरुले विकास गरेको यो किटमा परीक्षण गर्दा एक मिनेटमै रिपोर्ट दिन्छ । प्रोफेसर सारुसीका अनुसार यो परीक्षण किटले परीक्षण अवधीमा राम्रो नतिजा दिएको छ । कम समयमा धेरै परीक्षण गर्न सक्ने विशेषता रहेको यो किटलाई त्यहाँको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) बाट मान्यता दिलाउने तयारी चलिरहेको छ ।
यो किटको मुख्य विशेषता के हो भने, यसको प्रयोगका लागि कुनै विशेष सुविधासम्पन्न प्रयोगशालाको जरुरी पर्दैन । यो किटबाट जहाँ कहीं पनि कोरोना परीक्षण गर्न सकिन्छ । यो किटले खासगरि विमानस्थल, रेल स्टेशन, बस स्टेशनलगायतका स्थानमा गरिने र्यापिड परीक्षणको अभावको पूर्ति गर्छ ।