नेकपामा परिवर्तनको सङ्केत: बैठकमा प्रचण्डको कुर्सी फेरियो
काठमाडौँ- शनिबार बसेको नेकपाको सचिवालय बैठकमा एकाएक प्रचण्डको कुर्सी फेरिएको छ ।
ठुलो रस्साकस्सीपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समदुरीमा बसेको तस्बिर सार्वजनिक गरिएको छ । सो तस्बिरमा ओली र प्रचण्ड सँगसँगै बसेको देखिएको छ ।
ओलीको सचिवालयबाट सार्वजनिक भएको उक्त तस्बिरले नेकपामा केहि परिवर्तनको संकेत गरेको छ । बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर सार्वजनिक भएपछी अनेक अड्कलबाजी गर्न थालिएको छ ।
पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको ठहर गर्दै प्रचण्ड समुहले अघिल्लो सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए । त्यस लगत्तै ओलीले प्रचण्डलाई एकल अध्यक्ष बन्न अफर समेत गरेका थिए ।
ओलीले शुक्रबार आफू प्रधानमन्त्रीमा रहिरहने, पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी सम्हाल्न प्रचण्डलाई प्रस्ताव गरेको पृष्ठभूमिमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर सार्वजनिक भएको हो।