निको भएका रौतहटका युवालाई फेरि कोरोना संक्रमणको शंका: अस्पताल भर्ना गरियो - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

निको भएका रौतहटका युवालाई फेरि कोरोना संक्रमणको शंका: अस्पताल भर्ना गरियो



काठमाडौँ- कोरोना निको भएका रौतहटका १९ वर्षीय युवकलाई पुनः कोरोना संक्रमणको शंका लागेपछि नारायणी अस्पतालमा भर्ना गरिएको छ ।

रौतहट इशनाथ नगरपालिकाका ति युवक एक साता अगाडि निको भएर घर फर्किएका थिए । १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुन: नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको जनाइएको छ ।

शनिबार राति करिब ती युवकलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याएको बताइएको छ । अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परिक्षण नेगेटिभ आएपछि वैशाख १४ मा उनलाई डिस्चार्ज गरिएको थियो ।

तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवक गत वैशाख एकदेखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।

डिस्चार्ज हुने खबर पाएपछि ती युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । कोरोना नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए । अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब रि–चेक हुँदा पोजिटिभ आएको थियो ।