कोरोनाबाट एकैदिन १५ को मृत्यु: चिन्ताजनक बन्दै नेपालको अवस्था - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कोरोनाबाट एकैदिन १५ को मृत्यु: चिन्ताजनक बन्दै नेपालको अवस्था



काठमाडौं- नेपालमा नपत्याउने गरी कोरोनाको भयाबह अवस्था देखिन थालेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएकै बेला ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा बढी भएको छ ।

एकैदिन नेपालमा ११ पुरुष र ४ महिलाले ज्यान गुमाएपछि अवस्था चिन्ताजनक बनेको छ । यीमध्ये केहीको घरमै मृत्यु भएको छ ।

भक्तपुरका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै ज्यान गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्‍वर गौतमका अनुसार यो मृत्यु अहिलेसम्मकै उच्च हो।

गौतमका अनुसार ज्यान गुमाउने महिलाहरुमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्। त्यसैगरी पुरुषहरुमा सुनसरी ६० वर्षीय पुरुष छन्।

सुनसरीकी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष धरानस्थित एकै घरका हुन्। उनीहरु नाताले सौतेनी आमाछोरा हुन्। ज्यान गुमाउनेहरुमा मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष छन्। त्यसैगरी रौतहटका ३० वर्षीय युवकले पनि ज्यान गुमाएका छन्।

यता ललितपुरका २९ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको छ। भक्तपुरको होम आइसोलेसनमै रहेका ६५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। नवलपरासीस्थित ६२ वर्षीय, रुपन्देहीमा ६७ र ५७ वर्षीय पुरुषले ज्यान गुमाएका छन्।

पछिल्लो पटक आइतवार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित रमाइलो चोक निवासी ७७ वर्षीय पुरुषको त्यहीँस्थित समिट अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। यससँगै नेपालका पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाबाट ज्यान गएको छ।