एकै गाउँका १० जनामा कोरोना पुष्टि: सबै भारतबाट लुकिछिपी आएका थिए
झापा- झापा जिल्लामा एकै गाउँका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिकास्थित पथरिया माविको क्वारेन्टाइनमा बसेका दश युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरूको कोसी कोभिड अस्पताल विराटनगरमा स्वाब परीक्षण भएको थियो । सबैजना कचनकवलस्थित एकै टोलका हुन् । उनीहरूलाई कोसी कोभिड अस्पताल विराटनगर पठाइएको छ ।
संक्रमित सबै १८ देखि २५ वर्ष उमेर समूहका छन् । ११ जनाको टोली गत शनिबार भारतको मुबाईबाट दिल्ली हुँदै लुकिछिपी कचनकवल नाकाबाट नेपाल प्रवेश गरेको थियो ।
रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए । संक्रमित समूहमा आएका एकजनामा भने कोरोना संक्रमण देखिएको छैन ।
मकैबारीबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सीधै ट्र्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाको क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।
भारतसँग सीमा जोडिएको कचनकवलमा एकैपटक १० जनामा संक्रमण देखिएपछि गाउँपालिका नै सिल गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले आज (बुधबार) बैठक बसेर गाउँ सिलको निर्णय गर्ने जानकारी दिए ।