एकाएक घट्यो सुनको मूल्य: १४० किलोभन्दा बढी सुन बिक्री - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

एकाएक घट्यो सुनको मूल्य: १४० किलोभन्दा बढी सुन बिक्री



काठमाडौं- प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपियाँ रह्यो । त्यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपियाँ कायम रह्यो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेर एक हजार २१० रुपियाँ प्रतितोला कायम भएको छ । बुधबार बिहान साढे १० बजे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार ८८४ डलर पुगेका आधारमा नेपाली बजारमा मूल्य तय भएको हो ।

नेपाली बजारमा गत शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा गत साता प्रतिऔँस दुई हजार डलरभन्दा माथि पुगेको मूल्य एकै दिन १३६ डलरसम्मले
घटेको छ ।

मङ्गलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको खोप तयार भएर प्रयोग गर्न सकिने अवस्थामा पुगेको र छिटै ठूलो परिमाणमा उत्पादन सुरु गरिने समाचार बाहिरिएसँगै सुनको मूल्यमा गिरावट आउन थालेको अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले जनाएका छन् । यद्यपि रुसले खोप बनेको दाबी गरे पनि अरू देशले त्यसलाई पूर्ण विश्वास नगरेका कारण अझै सुन बजार अस्थिर देखिएको छ ।

त्यस्तै गत साताको अन्त्यतिर डलरको मूल्य पनि केही सुधार आएकाले सुनको मूल्य घट्न थालेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस एक हजार आठ सय डलरसम्म झर्न सक्ने अनुमान गर्न थालिएको छ ।

किलोका किलो सुन

नेपाली बजारमा सुनको मूल्य छ अङ्कले उकालो लाग्न थालेसँगै वाणिज्य बैङ्कहरूबाट दैनिक ४० किलोसम्मको सुन बिक्री हुँदै आएको छ ।

व्यवसायीले भने कारोबार ठप्प रहेको बताउँदै आएका छन् । नेपाल बैङ्कर्स सङ्घका अनुसार विगत दुई सातामा करिब १४० किलोभन्दा बढी सुन बिक्री भइसकेको गोरखापत्र दैनिकमा राधा चालिसेले लेखेकी छन् ।।

सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा भन्छन्, “नेपाली बजारमा मूल्य एक लाख रुपियाँमाथि जान थालेपछि माग पनि बढ्न थालेको छ । लगानीकर्ताले अझै मूल्य बढ्ने अनुमान गरेर सुन किन्न थालेका छन् । ”

सङ्घका अनुसार वाणिज्य बैङ्कहरूमा करिब ३३० किलो जति स्टक रहेकोमा अब घटेर एक सय किलोभन्दा कम भइसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य अहिले सुनको कारोबार ठप्पजस्तै रहेको अवस्थामा दैनिक किलोका किलो सुन बैङ्कहरूबाट बिक्री हुनु अस्वाभाविक बताउँछन् । उनले अहिलेको अवस्थामा सुन खरिद गर्न सुनचाँदी व्यवसायीको सिफारिस पनि नचाहिने हुँदा कसले सुन खरिद गरिरहेको छ भन्ने थाहा नभएकोे स्पष्ट पारे।

सामान्य अवस्थामा वाणिज्य बैङ्कहरूबाट सुन मगाएको १५ दिनभित्र प्यान नम्बरवाला व्यवसायीले नेपाल सुनचाँदी व्यवसायी महासङ्घको सिफारिसमा मात्र सुन खरिद गर्न पाउँथे ।

उहाँले भन्नुभयो, “यति बेला वाणिज्य बैङ्कहरूबाट बिक्री भएको सुन कालो बजारी भइरहेको छ÷छैन भनी सम्बन्धित निकायले सुपरीवेक्षण गर्न जरुरी छ । ” अहिले भारतमा सुनको कालोबजारी फस्टाएको समाचार आइरहेकाले कतै नेपालबाट सुन त्यसतर्फ त गएको छैन भन्ने विषयमा सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्क भने बजारमा माग भएकाले नै बिक्री भइरहेको अनुमान लगाएर बसेको छ । राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्ट तीजलगायत दसैँ, तिहारजस्ता चाडपर्व भएकाले बजारमा सुनको बिक्री बढेको समाचार आफूहरूले पाएको बताउँछन् । अस्वाभाविक माग बढेमा निगरानी हुने उनको भनाइ छ ।