एक वर्षमा ७ सय ७४ पिण्ट रगत सङ्कलन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एक वर्षमा ७ सय ७४ पिण्ट रगत सङ्कलन



लोकेन्द्र रावल /टीकापुर :नेपाल रेडक्रस सोसाइटी टीकापुर उप शाखाको २२ औ. अधिवेशन बिहीबार टीकापुर भएको छ ।

अधिवेशनमा प्रमुख अतिथि रहनु भएका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा कैलालीका सभापति उत्तम जोशीले मानवतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा रेडक्रसले सेवा दिँदै आएको बताउनु भयो । उहाँले मानव सेवामा लागेकै कारण विश्वभर रेडक्रसको महत्त्व बढ्दै गएको बताउनुभयो ।‘ रेडक्रसले राम्रो काम गरेको भए पनि स्थानीय तहमा वैधानिक उपस्थिति छैन,’जोशीले भन्नुभयो ,‘अब रेडक्रस पनि प्रदेशको संरचनामा जानुपर्छ । ’

रेडक्रसलाई हाक्न चुनौती भएको भन्दै जोशीले सक्षम नेतृत्व नआए संस्था नै निस्कृय हुने अवस्था छ भन्नुभयो । केन्द्रीय सदस्य हेमराज ओझाले टीकापुर उपशाखा देशभरमै उत्तम शाखाको रूपमा चिनिएको छ भन्नु भयो ।‘ जिल्लाले दिन नसकेको रक्त सेवा कार्यक्रम टीकापुर उपशाखाले दिएको छ ,’ओझाले भन्नुभयो , ‘दाताले दिएको सहयोग सदुपयोग भए थप सहयोगको अभाव हुँदैन भन्ने कुरा टीकापुर उपशाखाले प्रमाणित गरेको छ ।’ जिल्ला सदस्य बलबहादुर रावलले बाढी आएकाबेला टीकापुर उपशाखाले राम्रो काम गरेको बताउनु भयो । उहाँले टीकापुरको रक्त सञ्चार केन्द्रलाई जिल्ला स्तरको साधन स्रोत भएको रक्तसंचार केन्द्र बनाउन पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

उपशाखाका अध्यक्ष जगदिश्वर पण्डितको सभापतित्वमा भएको उक्त अधिवेशनमा सचिव धर्मराज शर्माले संस्थाको प्रगति र कोषाध्यक्ष दत्त बहादुर विष्टले आर्थिक प्रगति पेस गर्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष कल्याण प्रसाद दाहालले गर्नुभएको थियो । चार पटक रक्तदान गरेको भन्दै लोकश साउँद र संस्थागत रूपमा ५० पिण्ट रगत दान गरेको भन्दै स्वयमसेबी रक्त दाता समाज तथा एनबिआर कैलालीलाई नगद २५ सय रुपैयाँ सहित सम्मान गरिएको छ । यो धनराशिको पुरस्कार अमेरिकामा बस्ने जङ्ग बहादुर बमले आफ्नो भाइ स्व. ठक्कर बमको सम्झनामा प्रदान गर्नभएको हो ।

उपशाखाबाट सञ्चालित रक्त सेवा केन्द्रले एक वर्षमा ७ सय ७४ पिण्ट रगत सङ्कलन गरेको छ भने ७१७ पिण्ट रगत आपूर्ति गरेको रक्त सञ्चार केन्द्र संयोजक टेकराज बिनाडीले जानकारी गराउनुभयो । ‘रगतको माग बढ्दै गएको छ । रगत आपुर्तीमा समस्या छ , अझै पनि रगत दान बारे धेरै मान्छेले बुझेका छैनन् ,’ संयोजक बिनाडीले भन्नुभयो ,‘ अब केही समयमा रक्त केन्द्र सञ्चार व्यवस्थित हुन्छ ।’