कोरोना परीक्षणमा पनि सांसद र जनतामा भेदभाव भयो: डा. शेखर कोइराला - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

कोरोना परीक्षणमा पनि सांसद र जनतामा भेदभाव भयो: डा. शेखर कोइराला



काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सांसद र जनतालाई फरक-फरक विधिबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिएकोमा प्रश्न उठाएका छन्। उनी लामो समय चिकित्सा अभ्यास गरेका डाक्टर समेत हुन्।

‘सांसदलाई पीसीआर परीक्षण अनि संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र?’, शनिबार ट्विटरमा उनले भनेका छन्, ‘यो कस्तो शैली हो सरकार?’

सांसदलाई पीसीआर परीक्षण गरिएको ठिक भए पनि जनताप्रति भेदभाव भएको उनले टिप्पणी गरेका छन्। ‘सांसदलाई गरिएको ठिक छ तर जनताप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्यो? अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान्’, उनले भनेका छन्।

डा. कोइराला लामो समय विराटनगरस्थित कोशी अस्पतालमा काम गरेका मेडिकल डाक्टर हुन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति समेत भएका उनी पछि कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका हुन्।

सरकारले सर्वसाधारण जनताको कोरोना परीक्षणका लागि जिल्लाहरुमा र्यापिट डायग्नोस्टिक टेस्ट (आडीटी) माध्यमबाट कोरोना भाइरस (कोभिड—१९) परीक्षण गरिरहेछ। आरडीटीमा कोरोना पोजिटिभ देखिएकाहरुको फेरि पोलिमरेज चेन्ज रिएक्सन (पीसीआर) परीक्षण हुने गरेको छ।

बिहीबार र शुक्रबार सांसदहरुको पीसीआर विधिबाट परीक्षण गरिएको हो।

यी दुई परीक्षण विधिमा ठूलो फरक छ। कोरोना शरीरमा प्रवेश गरेपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ। आरडिटी विधिबाट शरीरमा एन्टिबडी उत्पादन भए, नभएको परीक्षण हुनेगर्छ।

एन्टिबडी उत्पाद भएको छ भने भाइरस पनि छ भन्ने विश्लेषण गरिन्छ। तर त्यो सधैँ सही नहुन पनि सक्छ। आम सर्वसाधारणको कोरोना परीक्षणका लागि सरकारले यो विधि प्रयोग भइरहेको छ।