अमेरिकालाई डा. एन्थोनी फाउचीको चेतावनी: खेलाँची नगरौं, यसको मूल्य महङ्गो पर्नसक्छ - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

अमेरिकालाई डा. एन्थोनी फाउचीको चेतावनी: खेलाँची नगरौं, यसको मूल्य महङ्गो पर्नसक्छ



काठमाडौं- अमेरिकाका संक्रामक रोग सम्बन्धीका वरिष्ठ डाक्टर तथा कोरोना भाइरसका विरुद्धको अभियानका प्रमुख ‘योद्धा’ डा. एन्थोनी फाउचीले अहिले नै लकडाउन खुकुलो पारेमा भाइरसको संक्रमण अति तीव्र गतिमा फैलिने चेतावनी दिएका छन् ।

डा. फाउची नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख हुन् । संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुन सक्ने आशंकामा उनी हाल आइसोलेशनमा छन् ।

सिनेटमा भएको कोरोना भाइरस सम्बन्धी सुनुवाईको क्रममा डा. फाउचीले अहिले नै लकडाउन वा घरमै बस्नु पर्ने नियम खुकुलो बनाएर सामान्य जनजीवनमा फर्किन खोजिए अवस्था अति असामान्य र भयावह हुने चेतावनी दिएका हुन् । यस्तो गरिएमा भाइरस तीव्र गतिमा फैलिने उनले चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन अन्त्य गरी व्यापार व्यवसाय सञ्चालन गर्ने पक्षमा छन् । लकडाउनको विरोधमा विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । केही राज्यले लकडाउन खुकुलो बनाउन थालेको छ । यस्तो बेला फाउचीको चेतावनी आएको हो ।

लकडाउन खुकुलो बनाउनका लागि तयार पारिएको ‘ओपनिङ्ग अप अमेरिका अगेन’ मा उल्लेख भए अनुसारका सबै नियमहरु चनाखो भएर पालना नगरिए सीमित क्षेत्रमा भएको संक्रमणले महामारीको रुप लिन सक्ने बताएका हुन् । सो योजनामा तीन चरण समेटिएको छ र हरेक चरणमा १४ दिनको समय हुने व्यवस्था छ ।

रिपब्लिकनको नेतृत्व रहेको अमेरिकी सिनेटको समितिसँग भिडियो लिंक मार्फत कुराकानी गर्दै फाउचीले अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अहिलेसम्म आएको आधिकारिक तथ्यांक भन्दा बढी हुन सक्ने पनि बताए ।

महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म कोभिड–१९ बाट ८२ हजार भन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार भन्दा बढी पुगेको छ ।

डा. फाउचीले चेतावनी दिँदै भने, ‘यसमा कुनै शंका छैन कि सावधानीका जति नै उपायहरु अपनाए पनि अझै धेरै संक्रमणका केसहरु आउने छन् ।’ पर्याप्त सावधानी नअपनाइएमा कोरोना भाइरसको महामारी पुनः आउन सक्ने वा यसको दोस्रो लहर चल्न सक्ने पनि उनले बताएका छन् ।