दिलीप महतो हत्याको दर्दनाक कथा: दानवहरूको त्यो हर्कत - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

दिलीप महतो हत्याको दर्दनाक कथा: दानवहरूको त्यो हर्कत



काठमाडौं- दिलीपकुमार महतोलाई दर्दनाक तरिकाले हत्या गरेको खुलेको छ ।

खोलाकाे अवैध उत्खननको विरोध गरेका कारण दिलीपकुमार त्यहाँका केही व्यक्तिले पहिले फलामको लिभरले कोखामा घोचेर घाइते बनाएपछि खोलामा सुताई टिपरले किचेर मारेको प्रहरीले बताएको छ।

सोहि आरोपमा प्रहरीले क्रसर संचालक विपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्र कुमार महतो र किसान रोशन कुमार यादवलाई शनिबार बेलुका पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

‘घट्ना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा खोलामा टिपरले बालुवा गिटी चोरी गरी लगिरहेको भन्ने थाहा पाई निज मृतक दिलिप भन्ने ओमप्रकाश महतोले टिपर समात्न गएकोमा निम्न मानिसहरुले दिलिप भन्ने ओम प्रकाश महतोलाई खोलामा समाती फलामको लिभरले दाहिने कोखामा घोचि घाइते पारी खोलामा सुताई ना ७ ख ६४१३ नम्बरको टिपरले किचि कर्तव्य गरी मारेको खुल्न आएकोमा निम्न मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कारवाही भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार बेलुका पत्रकार सम्मेलनमा बताएको छ।

अभियुक्तहरुलाई सार्वजनिक गर्दै धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले हालसम्म अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको बताए।

‘अनुसन्धानको क्रममा साे घटनामा अन्यको समेत संलग्नता भए उनीहरुलाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनेछौं’ उपरीक्षक बस्नेतले भने।

टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको शवको पोस्टमार्टम शनिवार गरिएको थियाे। प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकले झण्डै ३ घण्टा लगाएर दिलीपको शवलाई पोस्टमार्टम गरेका थिए।

कागजी प्रक्रियामा पहिले असहमति जनाएका मृतकका परिवारका सदस्यले पछि चित्त बुझाएपछि शनिवार अपरान्न साढे ४ बजेदेखि साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ ।

गम्भीर एवं संवेदनशील घटना भएकाले बढी समय लगाएर हरेक भाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुले बताएका छन।