धुलिखेलमा सुत्केरीको कोरोना संक्रमणबाट निधन भएको पुष्टि - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

धुलिखेलमा सुत्केरीको कोरोना संक्रमणबाट निधन भएको पुष्टि



काठमाडौँ– धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको कोरोना संक्रमणका कारण निधन भएको पुष्टि भएको छ।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी चोधुनको बिहीबार बेलुकी निधन भएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो। धुलिखेल अस्पतालका एक चिकित्सकले श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।

शिक्षण अस्पतालमा सिजरिङबाट डेलिभरी भएपछि उनको डिस्चार्ज भएको थियो।

बाह्रबिसे राम्चेस्थित घरमा उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो। उनलाई बाह्रबिसेस्थित स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएको थियो।

यद्यपि श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई धुलिखेल अस्पताल भर्ना गरिएको हो।

धुलिखेल अस्पतालमा उपचारमा क्रममा बिहीबार बेलुकी उनको निधन भएको हो।

उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पताल स्रोतले जानकारी दियो।

अहिले धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेसनमा राखिएको छ।

त्यस्तै उनको डेलिभरी भएको टिचिङ अस्पतालमा पनि उनको शल्यक्रिया र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको टोलीलाई स्वाब परीक्षण गरिएको हो।

ती महिलाको थप कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ।

‘उहाँको बिहीबार साँझ निधन भएको हो, उहाँको कोरोना परीक्षणको रिपोर्ट मन्त्रालय पुगेको छ,’ धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको हो।