देवदहकाण्ड : गुण्डाराजको राज्यलाई चुनौति - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

देवदहकाण्ड : गुण्डाराजको राज्यलाई चुनौति



-डी.आर.घिमिरे

रुपन्देही जिल्ला देवदहको ढेकारमा रहेको आफ्नो फर्निचरमा आगो तापिरहेका ४० वर्षे बसन्त पौडेल (बलु) को गत शुक्रबार विहान करिब सवा ११ बजे हत्या भएपछि केही महत्वपूर्ण प्रश्नहरु उठेका छन् । गत वर्ष यसरिनै सोही स्थानमा दुर्गा तिवारीको हत्या हुनु र दुवै हत्याको जिम्मा एउटै ब्यक्ति मनोज पुःनले लिनुवाट एकातिर आपराधिक प्रवृत्तिको उदय भएको देखिन्छ भने अर्कोतिर राजनीतिक इगो सांधेको हो कि भन्ने आशंका पनि गर्न सकिन्छ । घटनाको प्रकृति र प्रवृत्ति एउटै हुनु, यो वा त्यो भनेर खास कारण खुल्न नसक्नु, आपराधिक समूह वा ब्यक्ति एउटै हुनु, राजनैतिक रुपमा एउटै दलका कार्यकर्तालाई निसाना वनाउनु, धम्की दिइएका ब्यक्ति पनि एउटै दलका पर्नु र भूगोलका हिसावले पनि एउटै क्षेत्र पर्नु संयोग मात्र हो या नियोजित हो ? गंभीर प्रश्न उठेको छ ।

पौडेलमाथि गोली प्रहार भएको केही बेरमै मनोज पुःनले प्राइभेट नम्बरबाट बुटवलका सञ्चारकर्मीहरुलाई फोन गरे र पौडेल हत्याको जिम्मा लिए । जसरि गत वर्ष लिएका थिए । आफू हाल मलेसियामा रहेको भन्दै उनले ब्यक्तिगत रिसिइबीका कारण पौडेलको हत्या गरेको दावी गरेका छन् । फिल्म शैलीमा भएको यो हत्याको श्रृंखला कहां गएर टुंगिने हो यकिन गर्न गारो छ । गत वर्ष यसरिनै भएको दुर्गा तिवारीको हत्याका विरुद्घ धेरै ठूलो आन्दोलन भयो । तर, हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेन । अहिले पनि सकेको छैन । एउटा घटनाको छिनोफानो नलाग्दै अर्को डर लाग्दो अवस्था आयो । के गुण्डाराजनै शुरु भएको हो ? एउटाले हत्या गर्दै जाने र सो हत्याको विरोध गर्ने सवै जना निसानामा पर्दै जाने हो भने यो अन्त्यहीन श्रृंखला कसरि रोकिएला ?

दुर्गा तिवारीको हत्या पश्चात् स्वभावैले प्रहरीले अनुसन्धान गर्यो । केही ब्यक्तिहरु पक्राउ परे होलान् । केही छुटे होलान् । केही फरारनै छन् । अनुसन्धानमा सहयोग गरेको नाममा वा सो काण्डमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न अभियुक्तहरुलाई बलु पौडेलले अनाबश्यक दुःख दिएको र फसाएकोले त्यसको वदलामा हत्या गरेको जिकीर मनोजले गरेका छन् । यसको अर्थ अरु धेरै जनाले सहादत्त प्राप्त गर्नु पर्ने छ । किनकि आपराधिक ब्यक्तिको खोजविन त निरन्तर भइनै रहने छ । त्यसैले मनोजले अव अपराधलाई स्वीकारेर आत्मसमर्पण गरि सार्वजनिक जीवनमा आउने कि यसरिनै अन्त्यहीन श्रृंखलामा लागिरहने ? विडम्वना यो छ कि तिवारी हत्याकाण्डपछि फरार उनले यस वीचमा निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद गौचनको काठमाण्डौमा भएको हत्यामा पनि संलग्नता रहेको पुष्ट्याई गरिसकेका छन् ।

हत्या पश्चात् प्रहरीले बुटवल—देवदह सडक खण्डको भलुही जंगलमा लु४प १४ नम्बरको हिरो होन्डा ग्ल्यामर बाइक फेला पारेको छ । कसैले फालेर हिँडेको अवस्थामा फेला परेको मोटरसाइकल हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । गत वर्ष तिवारी हत्या काण्डमा पनि यसरिनै नक्कली मोटरसाइकलको प्रयोग गरिएको थियो । हत्या अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेत संलग्न छ र अहिलेसम्मको अनुसन्धानवाट हत्यामा पुःन समूहकै संलग्नताको आशंका गरिएको छ ।

‘जुन प्रकृतिले हत्या भएको छ, त्यसको शैलीे दुर्गा तिवारी र शरद गौचनको हत्या प्रकृतिसँग मेल खान्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन् । दुवै घटनामा हत्यालगत्तै फोन गरेर उनैले जिम्मेवारी लिएका छन् । देवदह–६ मा स्थायी घर भएका मनोज दुर्गा तिवारीको हत्यापछि आपराधिक समूहका नाइकेका रूपमा चिनिदै आएका छन् । त्यस अघि उनी केही समय एमाले र केही समय माओवादी कार्यकर्ताको रूपमा परिचित थिए ।
पुःनले रूपन्देहीमा आपराधिक गतिविधिलाई ब्यापक पार्दै आएका छन् ।

गत भदौ १२ गते भैरहवामा पेस्तोल देखाएर ७ लाख ६० हजार लुटिएको घटना र मंसिर २१ मा उद्योग वाणिज्य संघ भैरहवाका  उपाध्यक्ष कुलप्रसाद न्यौपानेको हत्या प्रयासका घटनामा पुःन जोडिएका छन् । यसवाहेक चन्दा उठाउने काममा पनि उनी सक्रिय छन् । रुपन्देहीका कैयन् ब्यापारीवाट मोटो रकम उठाएका छन् जसको जानकारी प्रहरीलाई पनि छ । उनको फोन कसैले उठाएन भने उक्त पसल वा घरमा मोवाइल फालेर त्यस नम्वरमा हान्ने र त्यसमार्फत् अमुक ठांउमा रकम पठाउन लगाई हुण्डी गर्न लगाएका घटना समेत् छन् ।

देवदह काण्डले जन्माएका केही प्रश्न ?

१.एकजना ब्यक्तिले राज्यलाई चुनौति दिएको छ । ऊ खुलेयाम हत्याको जिम्मा लिन्छ र यसपछिको निसाना को हो भनेर पनि किटान गर्दछ । अहिले पनि उसले केहीलाई निसाना वनाएको कुरा केहीमार्फत्  भनिरहेको छ । अचम्म यो छ कि हरेक दिनका हरेक गतिविधिको जानकारी उसलाई हुन्छ । कतिपय गोप्य भनिएकै वैठकको सूचना पनि उसलाई हुने गरेको छ । उसको सूचना संयन्त्रलाई संकेत गर्दै आइतवार प्रहरी तालिम केन्द्रमा आयोजित सर्वपक्षीय वैठकमा रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले सहयोगीहरु यही कतै हुनसक्ने अनुमानसमेत गरे । उनले शंकाको घेरामा धेरै जना भएपनि प्रमाणको अभावमा पक्राउ गर्न नसकिएको र हिजोका दिनमा पनि एउटा तहमा पुगेर रोकिएको संकेत् समेत गरे । प्रविधिको यति ठूलो विकास हुंदा पनि प्राइभेट नम्बरबाट गरिएका फोनको रेकर्ड नआउनु वा ल्याउन नसक्नु आश्चर्यको विषय वनेको छ ।

२.  यो घटनाको पछि सार्वजनिक जग्गाको प्रसंग भएको अनुमान गरिएको छ । देवदहमा रहेको करिव नौ विगाहा सार्वजनिक जग्गा मनोजको ग्यांगले विक्री गरेको र सो सार्वजनिक जग्गा ब्यक्तिले विक्री गरेर नाफा आर्जन गर्नु अनुचित हुने भन्दै उक्त जग्गा लुम्विनी वौद्य विश्वविद्यालयको नाममा गराउने प्रक्रिया शुरु भएपछि मनोजको उद्घेश्यमाथि धक्का लाग्यो । सम्भवत ः जग्गा सार्वजनिक गराउन सक्रिय भए वापत् दुर्गाको हत्या भयो र ऊ फरार भयो । यही काण्डमार्फत् आफूलाई वसिखान नदिएको आक्रोस स्वरुप हत्याका श्रृंखला गराइरहेको जानकारी अहिले मनोजले फोनमार्फत् केही ब्यक्तिलाई गराएको छ । पैसा वुझेका ब्यक्तिवाट उसले अहिले पनि दवाव खेप्नु परेकाले तिवारी हत्या काण्डको विरोधमा सक्रिय हुने र सो जग्गा सार्वजनिक गराउन सक्रिय हुनेहरुलाईनै छानी छानी हत्या वा धम्की दिन थालेको पनि अनुमान गरिएको छ ।

३.मनोज सामान्य ब्यक्तिनै हुन् । उनले आक्रोसमा दुर्गाको हत्या गरे । तत् पश्चात् कानुनी कारवाहीको डरले फरार भए । उनले आफू मलेसिया रहेको भनेपनि उनी भारतीय भूमिमा लुकेको हुनुपर्छ र त्यहां उनीे आपराधिक समूहसंग सम्पर्कमा आएको हुनुपर्छ । सम्भवत ः त्यसै मार्फत् पैसा कमाउने र जीविका चलाउने ध्याउन्नमा उनी छन् । अव उनी ठूलै गिरोहको फन्दामा परेको हुनुपर्छ र शायद अव उनी उम्कन सक्ने अवस्थामा छैनन् ।

४. प्रहरीको चुनौति प्रविधिमैत्री हुन नसक्नु हो वा क्षमताको अभाव हो ? राज्यमाथि एउटा ब्यक्ति धावा वोलेको छ । श्रृंखालावद्घ घटना थपिरहेको छ । स्वयम् प्रहरीलाईसमेत फोन गरेको छ । यस्तो अवस्थामा प्रहरीले चाहेको छैन भनेर आरोप लगाउनै सकिदैन । तर, पक्राउ पर्दैन । यसको अर्थ क्षमतामाथि प्रश्न हो वा के ? खुला सिमानालाई देखाएर मात्र प्रहरी उम्कन सक्ने अवस्था छैन ।

५. गौतमवुद्घको मावलीस्थल देवदहको वेइज्यति भएको महसूस स्थानीयले गरेका छन् । उनीहरुको टाउको लज्जावोधले निहुरिएको छ । यो एउटा वा दुइवटा घटनाको कुरा मात्र हैन काल पसेको अनुभूति गरिएको छ । यो अवस्थावाट कसरी मुक्त हुने र गराउने जटिल प्रश्न पनि उठेको छ ।