देउवा भन्छन्- 'राष्ट्रपति भन्नपनि लाजै भो' - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

देउवा भन्छन्- ‘राष्ट्रपति भन्नपनि लाजै भो’



काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय मर्यादा गुमाएको बताएका छन् । राष्ट्रपति जस्तो व्यक्तिले अभिभावकीय भूमिका निभाउन छाडेर केपी ओलीलाई बोकेर हिड्नु पदीय मर्यादाविपरित भएको देउवाको आरोप थियो ।

शनिबार पार्टी संसदीय दलको बैठकमा बोल्दै नेता देउवाले राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपा (एमाले) को अध्यक्ष केपी ओली समूहको प्रवक्ता मात्रै बनेको टिप्पणी गरेका हुन् ।संवैधानिक पदमा बसेको व्यक्ति राष्ट्रको अभिभावक बन्नु पर्नेमा पार्टीको विवाद मिलाउन सक्रिय बन्नु लज्जास्पद भएको उनको भनाइ थियो ।

‘राष्ट्रपतिले मुलुकको अभिभावकीय भूमिका निभाउनु पर्नेमा सत्तारुढ एमालेको पनि अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता जस्तै देखिनु भएको छ, उहाँलाई राष्ट्रपति भन्न पनि अजि लाग्ने अवस्था भो’, देउवाको भनाइ उद्धृत गदै कांग्रेसका एक सांसदले भने । भण्डारी मुलुकको अभिभावक नभई पार्टीको प्रवक्ता बनेको आरोप पनि देउवाले लगाए ।

कार्यकारी प्रधानमन्त्रीले संविधान मिच्दा सचेत गराउनु पर्नेमा उल्टै सहयोगी बनेर लाहछाप लगाएको देउवाले बताए । प्रधानमन्त्रीको गैरकानुनी काम राष्ट्रपतिले टुलुटुलु हेरेर बसेको उनको भनाइ थियो । ‘सरकारकै सहयोगीका रूपमा गैरसंवैधानिक काममा पनि लाहछाप लगाउने काम मात्रै राष्ट्रपतिले गर्नु भयो,’ देउवाले भने ।

देउवाले संवैधनिक पदमा बसेर सक्रिय राजनीति गरेको भन्दै राष्ट्रपतिका क्रियाकलाप प्रति पनि आपत्ति जनाए । उनले संविधान समाप्त पार्ने उद्देश्यले संसद्को बजेट अधिवेशन बोलाउने बेलामा चोरबाटोबाट संवैधानिक परिषद्सम्बन्धीलगायतका अध्यादेश ल्याएको बताए ।

‘प्रधानमन्त्री संविधान समाप्त पार्ने खेलमा लागेका छन् । संसद्को बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ,’ देउवाले भने, ‘यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छ । संसद् छलेर ल्याएको अध्यादेश अनुरुप बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतमा म उपस्थित नहुने निर्णय गरिसकेँ ।’