देउवाले डाके तीन दलको बैठक: तातेकै हुन् त देउवा ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देउवाले डाके तीन दलको बैठक: तातेकै हुन् त देउवा ?



काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बुधबार बोलाइएको छ । नयाँ सरकार गठनका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन्।

अपराह्न ३ बजे छलफलका लागि तीनै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको बताइएको छ । तीन दलको बैठकमा समसामियक राजनीतिक अवस्थासँगै सत्ता साझेदारीबारे छलफल हुने समेत बताइएको छ। नयाँ सरकार गठनका लागि साझा धारणा बनाइने उनको भनाइ छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पलह गर्ने निर्णय गरेको थियो। त्यहिअनुरुप माओवादी र जसपासँग छलफल गर्न देउवाले अग्रसरता लिएका हुन्। तीनै दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने पक्षमा एकमत छन्।

तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा प्रधानमन्त्री ओलीसँग वार्तामा छ। जसले गर्दा ओली सरकार विस्थापित गर्न र नयाँ सरकार गठन गर्न अलमल भइरहेको कांग्रेस नेताहरुको आरोप छ।

माओवादी नेताहरु भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वास प्रस्ताव दर्ता गर्ने काम सँगसँगै हुनुपर्ने बताउँदै आएका छन्।

जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र यादव प्रधानमन्त्री ओलीसँग वार्ता गर्दै आएका छन्। सांसद रेशम चौधरीको रिहाइ र मधेसका माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन्। जसले आफ्ना माग सम्बोधन गर्‍यो, उसैलाई समर्थन गर्ने बताउँदै आएका छन्।

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव भने ओली सरकार विस्थापित गर्नुपर्ने बताउँदै आएका छन्। उनीहरु कांग्रेस र माओवादीसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन्। यहि अलमलबीच देउवाले आज तीन दलको बैठक बोलाएका हुन्।