देउवाको आरोप: ओलीकै चरित्र लुम्बिनी प्रदेशमा पनि देखियो - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

देउवाको आरोप: ओलीकै चरित्र लुम्बिनी प्रदेशमा पनि देखियो



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनीको राजनीतिक घटनाक्रमलाई केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण भनेका छन्।

साथै उनले बलमिच्याइले मिचिएका विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप सरकारका लागि मार्गप्रशस्त गर्न चेतावनीसमेत दिएका छन्।

संविधानबमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्‍याए राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु संविधान एवं संसदीय मूल्य–मान्यताको ठाडो उल्लंघन रहेको देउवाले बताएका छन्।

‘एमालेले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्त गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनैपनि कोणबाट तर्कसंगत छैन,’ आइतबार साँझ विज्ञप्ति जारी गरेर देउवाले भनेका छन्,‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले पदबाटै राजीनामा गरेको अनि कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तुत गरिसकेको स्थितिमा संसदीय मान्यताविपरीत व्यवहार प्रस्तुत गर्नु लज्जास्पद र आपत्तिजनक छ।’

लुम्बिनीमा आइतबार भएका घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै उनले संविधानको उल्लंघन र अलोकतान्त्रिक प्रवृत्तिको निन्दा गरेका छन्।