नेपालमा कोरोना संक्रमण नदेखिनुको रहस्य के ?
काठमाडौं- कोरोना सङ्क्रमणले विश्वव्यापी आतंक मच्चाइरहेको छ।यसैको कारणले हजारौं मानिसले ज्यान गुमाएका छन् । एक प्रकारको भवितव्य नै बनेको कोरोना सङ्क्रमण नेपालमा भने अहिले सम्म भेटिएको छैन ।
संयोग नै मान्नुपर्छ संसारका १ सय ७५ देशमा कोरोना संक्रमण फैलिँदा पनि नेपालमा भने यसको असर देखिएको छैन । नेपालमा कोरोना संक्रमण नहुनुको विभिन्न कारण हुनसक्ने चर्चा अहिले सामाजीक सञ्जाल देखि आम दैनिकीमा चर्चाका बिषय बनेका छन् ।
विज्ञानले यस्तो कुरा नामानेपनि कतिले नेपाल देवभूमी भएकाले यसको असर नदेखिएको बताएका छन् भने कतिपयले तपोभूमीको उदाहरण दिने गरेका छन् ।
त्यतिमात्र होइन व्यक्तिपिच्छे यसको परिभाषा भने फरक छ । नेपालीहरूको रोग प्रतिरोधक क्षमता बढी भएकोले पनि कोरोनाको असर नदेखिएको कतिपयको दाबी छ । कतिपयको भने नेपाल जडिबुटीहरूले भरिएकोले पनि यस्ता भाइरसले असर गर्न नसकेको दाबी गर्छन ।
अहिले सामान्य चियाको स्टल देखि पाँचतारे होटलसम्म केहि चर्चा छ भने त्यो कोरोना सङ्क्रमणकै बिषयमा छ । एउटा पत्रकार वा स्वास्थ्यकर्मी देख्योकी हरेकले प्रश्न तेर्स्याइहाल्छन, ‘नेपालमा कोरोना भेटियो कि भेटिएको छैन ?’
नेपालको नजिकको एक छिमेकी देशमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरस युरोपमा महामारीको रूपमा देखिँदापनि नेपाल कसरी सुरक्षित हुनसक्यो ? यो एउटा अनुसन्धानको गतिलो बिषय बनेको छ ।
केहि व्यक्तिहरूले भने सरकारले सुचना लुकाइरहेको बताएका छन् । सरकारले आवस्यक तयारी गर्न नसकेको र गैर जिम्मेवार तरिकाले अभिव्यक्ति दिने गरेकोले कोरोना संक्रमण भएपनि सुचना लुकाएको सक्ने उनीहरुको तर्क छ ।
चीनले आफ्ना नागरिकमा संक्रमण देखिएपछि राज्य हुनुको दायित्व पुरा गरेको छ । कोरोना संक्रमणमा चीनले आफ्ना नागरिकलाई गरेको सेवा देखेर हाम्रो सरकार पनि यस्तै होस् भनेर कामाना नगर्ने दुनियामा सायद कमै व्यक्ति होलान ।
अमेरिकामा भने निकै पछि मात्र संक्रमण देखिएको छ । केहि मानिसमा संक्रमण देखिएपछि अमेरिकाले पनि राष्ट्रिय सङ्कटकाल घोषणा गरेर नागरिकको सेवा गरिरहेको छ ।
तर, नेपालमा न त प्रयाप्त स्रोत र साधन छ न त आवस्यक तयारी नै छ । त्यसैले त यहाँ हारेकले भन्न थालेको छन्, ‘पशुपतिनाथले सबैको कल्याण गरुन ।’