‘नेपालमा कोरोनाको मृत्युदर ह्वात्तै बढ्यो, मृतकमध्ये ५० प्रतिशत निरोगी ’ - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

‘नेपालमा कोरोनाको मृत्युदर ह्वात्तै बढ्यो, मृतकमध्ये ५० प्रतिशत निरोगी ’



काठमाडौं- मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् ।

यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रूपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रूपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ ।

विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोगी व्यक्ति छन् ।

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा ३ प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ ।

पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रस्ट तस्बिर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौं उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौं जिल्लाका छन् । रासस