दुई वर्षमा बन्छ भनिएको एड्सको खोप ४० वर्षसम्म बनेन, कोरोनाको खोप नबने के होला ?
एजेन्सी- सन् १९८४ मा अमेरिकी स्वास्थ्यमन्त्री मार्गरेट हेकलरले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिन्– वैज्ञानिकहरुले एड्सको कारक भाइरस (जसलाई पछि एचआईभी भनेर चिनियो) सफलतापूर्वक पत्ता लगाएका छन्। यसको खोप २ वर्षभित्र परीक्षणका लागि तयार हुनसक्छ।
त्यसयता झण्डै ४० वर्ष बित्यो, ३ करोड २० लाखको ज्यान गइसक्यो। तर, संसार अझै एचआईभीविरुद्धको खोपको प्रतीक्षा गरिरहेको छ।
खोपको विकासमा हेकलरले दाबी गरेजस्तो ‘ब्रेकथ्रु’ भएन। बरु, पश्चिमा मुलुकमा समलिंगी पुरुषहरुको एउटा पुस्ता नै सखाप भयो। धेरै वर्षसम्म एचआईभी पोजिटिभ हुनु भनेको मृत्युदण्डको सजाय प्राप्त गरेसरह रह्यो। संक्रमितमाथि हेलाहोचो र विभेदको भयंकर रुप देखियो। जीवनका अन्तिम महिनाहरुमा थुप्रै मानिस एक्लै परे। डाक्टरहरु भने एचआईभीका बिरामी बचाउन योग्य छन् कि छ्रैनन् भनेर मेडिकल जर्नलमा बहस गरिरहे।
यो खोजी १९८० को दशकमा समाप्त भएन। सन् १९९७ मा राष्ट्रपति विल क्लिन्टनले १० वर्षभित्र खोप बनाइसक्न अमेरिकालाई चुनौती दिए। तर, त्यसले पनि काम गरेन।
एचआईभी एड्स रोगको प्रकृतिका कारण नै खोप विकासमा कठिनाइ सुरु भयो।
‘इन्फ्लुएन्जाले हरेक वर्ष आफूलाई परिवर्तन गर्न सक्छ। त्यसैले अघिल्लो वर्ष संक्रमणका कारण वा खोप लगाएपछि अर्को वर्ष संक्रमण हुँदैन। तर, एचआईभी एक पटकको संक्रमणमै रुपान्तरित भइसक्छ,’ रोटाभाइरसको खोप पत्ता लगाउने टोलीका एक सदस्य पाउल ओफिट भन्छन्, ‘शरीरभित्रै एचआईभी रुपान्तरित भइरहन्छ। जसको अर्थ हो, तपाईं एचआईभीका हजारौँ हाँगाबिँगाबाट संक्रमित हुनुहुन्छ। यसले आफ्नो रुप पनि फेरिरहन्छ, तपाईंको प्रतिरक्षा प्रणाली पनि ध्वस्त बनाउँदै जान्छ।’
अहिले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक लकडाउनका कारण ठप्प छन्, अर्बौँ मानिसले रोजीरोटी गुमाएका छन्। यो महामारीको अन्त्य कसरी होला?
धेरैले भन्ने गरेका छन्– यसविरुद्धको खोप बनेपछि।
तर, खोप कहिल्यै नबन्न पनि सक्छ। त्यसैले कोभिड–१९ लाई उन्मूलन गर्न सम्भव नहुन सक्छ। बरु, हामीले भाइरसका साथै बाँच्न सिक्नुपर्ने हुनसक्छ।
महामारी नियन्त्रणमा आएपछि विस्तारै सहरमा चहलपहल सुरु हुनेछ। परीक्षण र संक्रमितको खोजी हाम्रो दैनिक जीवनको हिस्सा बन्न सक्छ। प्रकोप फैलिने देखिए तत्काल पुन लकडाउन अथवा सेल्फ आइसोलसनमा जानुपर्ने पनि हुनसक्छ। यसको उपचारको विधि पत्ता लाग्न सक्छ। तैपनि हरेक वर्ष प्रकोप फैलिन सक्छ।
खोप विकासमा कोभिड–१९ एचआईभीजति कठिन छैन। किनभने एचआईभी र मलेरिया रोगझैँ कोरोना भाइरसको स्वरुपमा तीव्र गतिमा परिवर्तन हुँदैन। कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण समेत हुन थालिसक्यो। त्यसैले विज्ञहरु बढी आशावादी देखिएका हुन्।
तर, यो सबै निराशामा बदलिन पनि सक्छ। किनभने यसअघि पनि अनेकौँ पटक खोप बनाउन असफलता हात लागिसकेको छ।
‘केही यस्ता भाइरस छन्, जसको खोप हामीले अझै बनाउन सकेका छैनौँ,’ इम्पेरियल कलेज लन्डनका ग्लोबल हेल्थ विषयका प्राध्यापक डा. डेविड नाबारो भन्छन्। खोप बनिहाले पनि त्यो सुरक्षित र प्रभावकारी हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनी बताउँछन्।
‘त्यसैले भाइरस हुँदाहुँदै पनि सामाजिक र आर्थिक जीवनलाई गतिशील बनाउने उपायहरु खोज्न जरुरी छ,’ उनले भने।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउचीसहित थुप्रैले १८ महिनासम्ममा खोप विकास भइसक्ने बताएका छन्। तर, खोप बनिहाले पनि यति छोटो अवधिमा त्यसलाई त्यसलाई फलदायी रुपमा यसअघि कहिल्यै प्रयोग गर्न सकिएको छैन।
‘हामीले अहिलेसम्म एक वर्षदेखि डेढ वर्षसम्ममा कहिल्यै पनि खोप तयार गरेका छैनौँ,’ ह्युस्टनस्थित बेलर कलेज अफ मेडिसिनको नेसलन स्कुल अफ ट्रपिकल मेडिसिनका डिन डा. पिटर होटेज भन्छन्, ‘यो असम्भव छ भन्ने त होइन, तर त्यो निकै ठूलो र कठिन उपलब्धि हुनेछ। त्यसैले हामीसँग वैकल्पिक योजना पनि हुनुपर्छ।’
केही रोगले वैज्ञानिकहरुलाई वर्षौँ झुलाएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ४ लाख मानिसलाई डेंगु लाग्छ। तर, दशकौँदेखि वैज्ञानिकहरुले यसको खोप बनाउन सकेका छैनन्। २०१७ मा यसका लागि ठूलो प्रयास भएको थियो। तर, त्यो खोपले रोगको लक्षणलाई झनै गम्भीर बनाउने देखिएपछि त्यसलाई छोडियो।
त्यस्तै राइनो भाइरस र एडेनो भाइरसको खोप बनाउन पनि निकै मुस्किल देखिएको छ। दुई खाले एडेनो भाइरस रोक्ने एउटा मात्र खोप बनेको छ, जुन व्यवसायिक रुपमा उपलब्ध छैन।
‘पहिले ठूलो आशा जाग्छ, अनि त्यो आशा निराशामा बदलिन्छ,’ खोप विकासको कठिन प्रक्रियाबारे डा. नाबारो व्याख्या गर्छन्, ‘हामी कुनै यान्त्रिक प्रणालीसँग होइन, जैविक प्रणालीसम्बन्धी काम गरिरहेका छौँ। त्यसैले धेरै हदसम्म शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा यो निर्भर रहन्छ।’
बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भाइरसको खोप मानिसमा परीक्षण हुन थालिसकेको छ। अमेरिकामा पनि विभिन्न प्रकारका खोप बन्दैछन्। तर, खोप विकास गर्नभन्दा परीक्षणको प्रक्रिया लामो हुने र त्यसले धेरै बाधा निम्त्याउने होटेज बताउँछन्।
‘कठिन पक्ष भनेकै खोपले काम गर्छ र सुरक्षित छ भनेर प्रमाणित गर्नु हो,’ उनले भने।
के हुन सक्छ खोपको विकल्प?
कोरोना भाइरसविरुद्धको खोप विकास नभए पनि अहिले जीवन जस्तो छ, त्यस्तै रहने छैन। तर, पहिलेको जस्तो सामान्य अवस्थामा पनि हामी जान सक्दैनौँ। लकडाउन आर्थिक रुपले धान्न सकिन्न। त्यसैले नयाँखाले जीवनशैली देख्न सकिने सम्भावना छ।
‘काम एकदमै जरुरी छ। तर व्यक्ति जिम्मेवार बन्नुपर्छ,’ नाबारो भन्छन्, ‘लक्षण देखिए आइसोलेसनमा जानुपर्छ।’
कोभिड–१९ को खोपमा असफलता हात लाग्यो भने यो भाइरस हामीमाझ थुप्रै वर्षसम्म रहनसक्छ। त्यसबेला के गर्ने, एचआईभी एड्सको उपचार पद्धतिबाट हामी केही सिक्न सक्छौँ।
‘एचआईभीलाई एन्टीभाइरल औषधिका माध्यमले उपचार गर्न सफल भएका छौँ। क्यान्सरमा पनि जे आशा गरिएको थियो, त्यो प्राप्त भएको छ,’ ओफिट भन्छन्, ‘अहिले यो रोग १९८० मा जस्तो मृत्युदण्डबराबर छैन।’
दैनिक खानुपर्ने प्रिएक्सपोजर प्रोफिल्याक्सिस चक्कीको विकासले लाखौँ मानिसलाई एचआईभी लाग्नबाट बचाएको छ।
कोभिड–१९ मा पनि यस्ता अनेकौँ उपचार विधि प्रयोग भइरहेको छ। खोपका साथै त्यसको वैकल्पिक उपचार पद्धतिका लागि पनि वैज्ञानिकहरु मेहनत गरिरहेका छन्। तर, ती सबै सुरुवाती चरणमै छन्। इबोलाको उपचारमा प्रयोग हुने रेमडेसिविर औषधिको पनि प्रयोग गइरहेको छ। ट्रम्पले ‘गेमचेन्जर’ भनेको हाइड्रोअक्सिक्लोरोक्वाइनले चाहिँ त्यति प्रभावकारी काम गरेको देखिएन। -सीएनएन