काठमाडौं उपत्यका अब कोरोनाको ‘डेन्जर जोन’
काठमाडौं- कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ ।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नति समेत गर्नुपर्ने देखिएको छ ।
यसअघि नै कतिपय स्थानीय तहले क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि आवश्यक संख्यामा क्वारेन्टाइन बनाएका छैनन् । कुनै पनि समय उपत्यकामा कोरोना भाइरस रोगका सङ्क्रमित आकस्मिक रूपमा बढ्न सक्ने र ती व्यक्तिलाई राख्न क्वारेन्टाइन निर्माण अत्यावश्यक छ ।
उपत्यकाका नागरिकले सजगता अपनाएकाले काठमाडौंमा अहिलेसम्म सङ्क्रमितको संख्या उल्लेख्य रूपमा बढ्न भने सकेको छैन । यद्यपि परीक्षणको दायरा फराकिलो पार्ने क्रमसँगै थप सङ्क्रमित देखिन सक्नेछन् ।
काठमाडौं, ललितपुर र भक्तपुर संकट व्यवस्थापन केन्द्र अर्थात् क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी) का अनुसार अहिले स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन व्यवस्थित नभएकाले त्यसको व्यवस्थापन अत्यावश्यक छ ।
गोरखापत्रका अनुसार जिल्ला समन्वय समिति काठमाडाैंका प्रमुख एवं सीएमसी काठमाडौंका सल्लाहकार शिवसुन्दर राजवैद्यले उपत्यकामा पालिकाले सीएमसीलाई जानकारी दिनका लागि मात्र निश्चित संख्यामा क्वारेन्टाइन निर्माण गरेको बताए ।
‘काठमाडौँका ११ वटै स्थानीय तहसँग क्वारेन्टाइन निर्माण गर्ने ठाउँ छ तर क्वारेन्टाइन निर्माणको व्यवस्था गरिएको छैन’, उनले भने, ‘क्वारेन्टाइन भए पनि पूर्ण तयारी अवस्थामा भने छैनन् ।’
कोरोना सङ्क्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा क्वारेन्टाइनलाई अग्रिम रूपमा व्यवस्थापन गर्न सकिएन भने उपत्यकामा पनि अवस्था भयावह हुन सक्नेप्रति वैद्यले चिन्ता व्यक्त गरे । यस विषयलाई आफूले पटक पटक सीएमसीको बैठकमा उठाउने गरे पनि कार्यान्वयनमा नआएकाले अब गम्भीर बन्नुपर्ने अवस्था आएको उनले स्पष्ट गरे ।