नेपालमा कोरोनाको चिरफार: कुन उमेर समुहमा कस्तो छ प्रभाव ? - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेपालमा कोरोनाको चिरफार: कुन उमेर समुहमा कस्तो छ प्रभाव ?



काठमाडौँ- कोभिड–१९ संक्रमण हिँडडुलमा सक्रिय उमेर समूहमा सबैभन्दा बढी देखिए पनि बालबालिका, महिला र बूढापाकामा विस्तार उल्लेख्य भइरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार संक्रमितमध्ये ४० वर्षसम्मको उमेर समूहका ७७.९८ प्रतिशत छन् ।

‘हाल जुन उमेर समूहका व्यक्ति बढी सक्रिय छन्, बढी हिँडडुल गर्छन्, उनीहरू बढी मात्रामा संक्रमित भइरहेका छन्,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘संक्रमणको विस्तार बालबालिका, महिला र बूढापाकामा पनि भइरहेको छ ।’

संक्रमण ४० वर्षमुनिका व्यक्तिमा बढी देखिए पनि मृत्युदर भने त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा धेरै छ । संक्रमण १५ देखि ५० वर्ष उमेर समूहभित्रै बढी भए पनि यसअघि नदेखिएको समूहमा समेत हाल संक्रमण देखिन थालेको छ । ‘काठमाडौंमा पहिले ३ वर्षमुनिका बालबालिकामा संक्रमण १ प्रतिशत थियो भने अहिले ३ प्रतिशत जति बढेको छ,’ डा.पाण्डेले भने, ‘संक्रमितमध्ये महिला करिब ३२ प्रतिशत पुगेको छ ।’ कुल संक्रमितमा महिला २३.४१ प्रतिशत थिए ।

पछिल्लो समय काठमाडौंमा एक वर्षमुनिका बच्चामा समेत संक्रमण देखिएको छ । मुलुकको कुल जनसंख्याको करिब एक तिहाइ १५ वर्षमुनिका बालबालिका छन् । यस्तै १५ देखि ६४ वर्षसम्मको जनसंख्या ६१ प्रतिशतभन्दा बढी र ६५ वर्षमाथिको जनसंख्या करिब साढे चार प्रतिशत छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा ४० वर्षमाथिका कोभिड संक्रमितहरू २२.०१ प्रतिशत मात्र छन । २१ देखि ४० वर्ष उमेर समूहका संक्रमित सबैभन्दा बढी ५९.७७ प्रतिशत छन् । यसमा पनि २१ देखि ३० वर्ष उमेर समूहका संक्रमित ३५.०८ प्रतिशत छन् । ४१ देखि ५० वर्ष उमेर समूहका संक्रमित ११.८९ प्रतिशत, ५१ देखि ६० वर्ष उमेर समूहका संक्रमित ६.१८ प्रतिशत छन् । बढी जोखिम भएको ६१ देखि ७० वर्ष उमेर समूहका संक्रमित २.५८ प्रतिशत, ७१ देखि ८० वर्ष उमेर समूहका संक्रमित १.०३ प्रतिशत र ८० वर्षमाथिका संक्रमित ०.३१ प्रतिशत छ ।

पछिल्लो समय निको हुने दर बढेर ६८ दशमलव ५ प्रतिशत पुगेको छ । विज्ञहरूले निको हुने दर अपेक्षाअनुसार नबढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । हाल संक्रमितको मृत्युदर ०.६३ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयले संक्रमणबारे कसैले लापरबाही नगर्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमण बढ्नु झन् जोखिम भएको उल्लेख गरिएको अतुल मिश्रले कान्तिपुरमा लेखेका छन् ।

‘पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरूको संख्या बढ्नु आफैंमा खतराको संकेत हो,’ मन्त्रालयले भनेको छ, ‘मलाई केही हुँदैन, कोरोना बाहिरबाट आउनेलाई हुन्छ वा स्वास्थ्य समस्या भएका वा दीर्घरोगीलाई हुन्छ, म बलियो छु, मलाई कुनै रोग छैन, भइहाले पनि मलाई केही खतरा छैन भन्ने खालका सोचहरू त्यागौं ।’ कोरोना संक्रमणको जोखिममा सबै रहेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को जोखिममा ज्येष्ठ नागरिकलगायत रोगसंँग लड्ने क्षमता कम भएको समूह रहेकाले उनीहरूलाई जोगाउन परिवार र समाजले विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जोड दिए । उनले परिवारको सदस्यले सामाजिक दूरी, मास्कको प्रयोग, साबुनपानीले हातको सफाइ, सम्भव भएसम्म घरबाहिर ननिस्किने लगायतका जनस्वास्थ्यको प्रकृया अपनाउनुपर्ने बताए ।