एकैदिन ७ जनाको मृत्यु: भयावह भयो कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

एकैदिन ७ जनाको मृत्यु: भयावह भयो कोरोना संक्रमण



काठमाडौं- नेपालमा लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टाभित्रै नेपालमा कोरोना भाइरस संक्रमणका कारण सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाभित्र ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैयाका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताएका छन् ।

त्यसै गरी बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ छातापुर घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

लकडाउन खुलेपछि उपत्यकामा मात्र थपिए ९८६ संक्रमित

यता काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो ।

तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन् । लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो । लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमितसहित उपत्यकामा १ हजार ३१४ जनामा संक्रमण देखिएको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या एक हजार १२२ छ ।