के रहेछ त कोरोनाको औषधि ? - कोरोना जितेकी अंशु यसो भन्छिन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

के रहेछ त कोरोनाको औषधि ? – कोरोना जितेकी अंशु यसो भन्छिन



बागलुङ- बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

युवतीको पाँचौं र छैटौं स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाकोे पाँचौं रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौं स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

२८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिंड्दा खुशीको सीमा नरहेको बताइन् ।

उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन । ‘सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ’, सापकोटाले भनिन्, ‘कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगें ।’

उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानु भएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिइन् ।

‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन’, उनले अनुभव सुनाइन् । ‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइनँ, आत्मबल झनै दह्रो बनाएर बसें ।’ अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझाव समेत दिइन् ।

आफूले आफैलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।

२८ दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ ।

अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए । युवतीलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्‍याएको थियो ।

युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् ।

उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसै साता मात्रै नेपालको छैटौं तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन् ।