राष्ट्रियसभामा काङ्ग्रेस र समाजवादीको तालमेल: १६ कांग्रेस, २ समाजवादी - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

राष्ट्रियसभामा काङ्ग्रेस र समाजवादीको तालमेल: १६ कांग्रेस, २ समाजवादी



काठमाडौं- राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र केही समय अगाडि सरकारबाट बाहिरिएको समाजवादी पार्टीले तालमेल गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेका दुई दलको बैठकले राष्ट्रियसभामा मिलेर जाने निर्णय गरेका हुन्। शुक्रबार सहमति गरिएको हो ।

राष्ट्रियसभाका १८ सिटमध्ये कांग्रेसले १६ र समाजवादी पार्टीले २ सिटमा उम्मेदवारी दिनेगरी सहमति भएको कांग्रेसका एक नेताले बताए।

प्रदेश नम्बर २ बाट अन्य र दलित २ सिट मात्र समाजवादीले लिनेछ भने प्रदेश २ कै अल्पसंख्यक र महिला सिटसहित सबै रिक्त पदमा कांग्रेसले उम्मेदवारी दिनेछ।

समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति विजय गच्छदार सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता बसेर यस्तो सहमति गरिएको बताइएको छ ।

समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई गोरखामा भएकाले अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठले कांग्रेससँग कार्यगत एकताका लागि वार्ता गर्न देउवा निवास पुगेका हुन्।

कांग्रेसको कार्यसमिति बैठक पटक–पटक बहिष्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समाजवादीसँग कार्यगत एकताको लागि सहमति जनाएपछि शुक्रबार समाजवादीसँग वार्ता गरी सहमति गरिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीसंग खटपट भएपछि समाजवादी पार्टी पुस ८ गते सरकारबाट बाहिरिएको थियो।

सरकारबाट बाहिरिएपछि पुस ११ गते अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कांग्रेस सभापति देउवासँग बुढानिलकण्ठ पुगेर भेट गरी राष्ट्रियसभामा कार्यगत एकता गरेर जाने प्रस्ताव गरेका थिए।

राष्ट्रियसभामा कांग्रेसबाट १३ जना सांसद रहेकोमा ७ जनाको अवधि सकिँदैछ। यस्तै समाजवादीको २ जनामध्ये १ जनाको अवधि सकिँदैछ।