कांग्रेस पनि सरकारमा आए हुन्छ : पण्डित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेस पनि सरकारमा आए हुन्छ : पण्डित



गुण्डालाई संरक्षण दिने नेतालाई अपराधी सरह व्यवहार गरेर दण्डित गर्नुपर्छ

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको एक हप्ता भइसकेको छ । तर मन्त्रीमण्डल विस्तार हुन सकेको छैन । माओवादीसमेत सरकारमा सहभागि हुँदैछ । तर एमाले र माओवादीले अझैसम्म मन्त्रीमण्डलमा सहभागि हुने व्यक्तिको नाम टुङ्गो लगाउन सकेको छैन । ओली नेतृत्वको सरकारका दुई जना मन्त्रीमध्येका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितसँग सरकार विस्तार र समसामयिक विषयमा केन्द्रित रहेर ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मन्त्रीपरिषद किन विस्तार हुन सकेन ?
केपी ओली प्रधानमन्त्री हुनुभएको एक हप्ता भइसक्यो । अब मन्त्रीपरिषदको लागि व्यक्ति छनौटको छलफलमा लागिरहेकाले विस्तार ढिला भएको हो । दुई दिनभित्रमा हुन्छ ।

मन्त्रीका आकांक्षी धेरै भएकाले समस्या भएको हो ?
मन्त्री बन्नका लागि योग्य व्यक्ति धेरै हुनुहुन्छ । छान्ने प्रक्रियामा छ । सम्भवत आजै नभए भोलीसम्ममा मन्त्रीपरिषद विस्तार हुन्छ । नेताहरुको आन्तरिक द्धन्द्धका कारण रोकिएको होइन ।

कस्ता व्यक्तिहरुलाई मन्त्री बनाउँदै हुनुहुन्छ ?
यसपटक जनताले मन पराएको विश्वासिलो काम गर्न सक्ने व्यक्तिलाई मन्त्रीपरिषदमा स्थान दिइन्छ । संविधानले मन्त्रीपरिषदको संख्या बढिमा २५ तोकेको छ । अब दुईदुईवटा बस नै चाहिने गरी ठूलो मन्त्रीपरिषद बन्दैन ।

आकांक्षी धेरै छन् । संविधानले भनेअनुसार सानो मन्त्रीपरिषद बनाउन सकिन्छ त ?
मन्त्रीपरिषद सानै बन्छ । कामकाजी बन्छ । मन्त्रालय र मन्त्रीको संख्या बढाएर, सहायक र राज्यमन्त्रीसमेत थपेर बेकामी मन्त्रीपरिषद बनाउनु हुँदैन ।

सघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने हो ?
छलफल चलिरहेको छ । कुरा टुङ्गियो भने हामी तयार छौँ । हामी त नेपाली कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्छौँ । कांग्रेसलाई पनि स्थान दिन तयार छौँ ।

कांग्रेसलाई सरकारमा ल्याएर प्रमुख प्रतिपक्ष दल नहोस् भन्ने चाहनुभएको हो ?
संसदमा सधैँ प्रतिपक्ष वा विरोधी चाहिन्छ भन्ने हुँदैन । अहिले देश निर्माणका निम्ती सबै दल एकठाउँमा आएर काम गर्न सक्यो भने राम्रो हुन्छ । विगतमा प्रतिपक्षको खोजी गर्ने सन्दर्भमा मुलुक रुमल्लिएको थियो । त्यसकारणले गर्दा राजनीतिक द्धन्द्ध बढेको थियो । त्यसैले कांग्रेस सकारात्मक सोचका साथ सरकारमा आउन चाह्यो भने हामी तयार छौँ ।

संविधान संशोधनका लागि तयार भएर फोरमलाई सरकारमा आउन आग्रह गर्नुभएको हो ?
जनताले चाहेको आवश्यकताअनुसार भविष्यमा संशोधन हुन्छ । परिस्थितीअनुसार देशलाई अगाडि बढाउनका लागि संविधान संशोधन गर्न सकिन्छ । तर अहिले कसैलाई सरकारमा ल्याउनका लागि पहिला संविधान संशोधन गर्ने पक्षमा हामी छैनौँ ।

तर मधेशवादी दलले त संविधान संशोधनका लागि कार्यदल नबनेसम्म सरकारमा सहभागि नहुने स्पष्ट पारेका छन् ?
त्यसो भए अलिदिन कुरेर बस्नुहुन्छ । हामी पहिला मुलुकलाई दिशा दिने हो । त्यसपछि आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अहिले नै संविधान संशोधन हुँदैन ।

देशमा संघीय प्रणाली लागु भएपछि समस्या देखिएको छ । कर्मचारीहरु प्रदेश सरकारमा पुगेका छैनन् । पूर्वाधार, बजेट, कानुन केही छैन । अब तपाईहरुले कसरी देश विकास गर्नुहुन्छ ?
अहिले तलब भत्ता र सुविधा खोज्ने समय होइन । थोरै व्यवस्थापन गर्दै धेरै विकास निर्माणका काम गर्दै अगाडि बढ्नुपर्छ । खटाइएको स्थानमा कर्मचारी पुगेनन् भने कारबाही गर्छौँ ।

तर सुविधाको माग गर्दै कर्मचारीहरु तोकिएको ठाउँमा जान मानेका छैनन् ?
सुविधा नदिएर त्यतिकै अहिलेसम्म निःशुल्क काम गर्नुभएको हो र ? स्रोतले भ्याएसम्मको सुविधा अब पनि पाउनुहुन्छ । काम नगर्ने र राष्ट्रको सेवामा ध्यान नपुर्याउने जुनसुकै ठाउँका कर्मचारीलाई कारबाही गर्छौँ । मैले जे गरेपनि हुन्छ भन्ठान्ने कर्मचारीलाई छुट हुँदैन ।

नेपालका गुण्डाहरुलाई दल र नेताहरुको आर्शिवाद थियो । पछिल्लो समय आशिर्वाद दिन छोड्नुभएको हो ?
गुण्डागर्दी हुँदा तिनलाई कारबाही होस् भन्ने, कारबाही हुँदा १२–२७ को बखेडा कसैले निकाल्छ भने त्यो बखेडाको पछाडि लाग्नु छैन । जसले अपराध गरे पनि कारबाही गर्छौँ ।

हिजो मात्रै गुण्डा नाइके मनोव पुनको इन्काउण्टर भयो । यसलाई कसरी लिनुहुन्छ ?
अपराधीलाई नियन्त्रण लिन खोज्दा मानवीय ज्यान जानुहुँदैनथ्यो । तर ज्यान गएकोमा ठूलो दुःख मनाउ गर्नु कुनै आवश्यकता छैन । अब देशबाट गुण्डाहरुलाई छोड्दैनौँ । गुण्डाराजको अन्त्य नगर्ने हो भने देश अगाडि बढ्दैन । गुण्डालाई जुन नेताले संरक्षण गर्छ, ति नेतालाई पनि अपराधी सरह व्यवहार गरेर दण्डित गर्नुपर्छ ।