सरकारको आलोचना गरेवापत जेल जानुपर्ने ? यस्तो विधेयक पास हुन दिन्नौ: काङ्ग्रेस - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सरकारको आलोचना गरेवापत जेल जानुपर्ने ? यस्तो विधेयक पास हुन दिन्नौ: काङ्ग्रेस



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयक संसदबाट पारित हुन नदिने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधेयक यही रुपमा पारित गर्न खोजिए सडक संघर्षमा जान पनि कांग्रेस तयार रहेको बताए ।

“सरकारको आलोचना गर्न नपाउने ? आलोचना गरेवापत जेल जानुपर्ने ? यस्तो कुरा मान्य हुँदैन,” शर्माले भने ।

यसैगरी, कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने माग गरेको छ । सरकारबाट सम्झौता अवरुद्ध गरिएकोमा कांग्रेसले विरोध जनाएको छ ।

पत्रकार सम्मेलनमा शर्माले प्रदेश ३ को नामांकन र राजधानीका विषयमा नेकपा सचिवालयले निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको कांग्रेसले टिप्पणी गरे । संघीयताको मर्म्विपरीत नेकपाले प्रदेश ३ सभालाई निर्देशन दिएको शर्माले तर्क गरे । यसैगरी, नेपाल ट्रष्टको जग्गाको विषयमा छानविन हुनुपर्ने पनि उनले माग गरे ।

नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारलाई कांग्रेसले शुभकामना दिएको छ । कांग्रेसले स्वदेश र विदेशमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।
उखु किसानको आन्दोलन समर्थन

कांग्रेसले उखु किसानहरुको आन्दोलनाई समर्थन गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसाहरुको आन्दोलनमा पार्टीको समर्थन गरहेको जनाएका छन् ।

‘किसानले आफ्नो उखु बिक्री गरेबपत रकम भुक्तानी नपाएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ,’ खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उखु बिक्रीबापत पुरानो तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुखद भएको विज्ञप्तिमा जनाइएको छ ।

‘उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ । उक्त आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो ।’

आन्दोलनमा रहेका किसानका मागहरुलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।