काङ्ग्रेसका तीन गुट मिल्ने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

काङ्ग्रेसका तीन गुट मिल्ने



काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि पार्टीका तीनै गुटका शीर्ष नेता सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ ।

सभापति देउवा निवास बूढानिलकण्ठमा आइतबार साँझ भएको तीनै शीर्ष नेताबीच छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिएका छन् ।

उनका अनुसार सहमतिमै पार्टीमा देखिएको विवाद समाधानका लागि तीनै नेता सहमत भएका छन् । उनले भने, “वरिष्ठ नेता भोलि नयाँ दिल्ली जाँदै हुनुहुन्छ । उहाँ तीन-चार दिनपछि फर्किनुहुन्छ । यसबीचमा थप छलफल गरेर विवाद समाधान गर्ने सहमति भएको छ ।”

यसअघि शनिबार सभापति देउवाले पौडेल र सिटौलालाई फोन गरेर पार्टीको विवाद समाधान गर्न आइतबारको छलफलका लागि आग्रह गरेका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ देखि बस्‍न सकेको छैन । विभाग गठन, महाधिवेशनको कार्यतालिकालगायतका विषयलाई लिएर संस्थापन इतरले बैठक बहिष्कार गरेको थियो ।

पुस ११ बसेको केन्द्रीय कार्यसमितिको बहुमतको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । पौडेल पक्षले उक्त निर्णय खारेजको माग गरेपछि देउवा तयार भएका थिए ।