देउवा र उनका आसेपासे: जसले काङ्ग्रेसको ‘नेप्से’ गिराए
काठमाडौं- प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेस अहिले दिशाविहीन र नेतृत्वविहिन जस्तै बनेको छ । पार्टी सभापति लगायतका शिर्ष नेताहरूकै कारण नेपाली कांग्रेसको ‘नेप्से’ अहिले ओरालो गतिमा छ ।
पटक पटक सत्ताको स्वाद चाखेको र गहिरो अनुभव भएको कांग्रेस अहिले भने नेतृत्वको कारण कोमामा छ । आफूलाई सम्हालेर प्रतिपक्षको दरिलो भूमिका निर्वाह गर्दै जनताको मन जित्ने सुनौलो अवसर कांग्रेस नेतृत्वसँग छ ।
तर, नेताहरू भने आफ्नै दलका नेताहरूलाई गिराउने, कमजोर बनाउने, र व्यक्तिगत फाइदाको राजनीति गर्नमै ब्यस्त छन् ।
मुलुकलाई प्रजातन्त्रको बाटोमा ल्याउने, सशस्त्र द्वन्द्वमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा भित्र्याउने, राजालाई बाटो लगाएर गणतन्त्र स्थापना गराउनेदेखि संविधान निर्माणसम्ममा नेतृत्वको जस लिने काम विगतमा कांग्रेस नेतृत्वबाट नभएको होइन ।
तर, अहिलेको कांग्रेस नेतृत्वले न आफ्नो भलो गर्न सकेको छ न त सरकारलाई सहि मार्गनिर्देश ।
कांग्रेसभित्र पार्टीको साटो विभिन्न खेमामा रहेका गुट सक्रिय भूमिकामा देखिएका छन् । सांगठनिक रूपमा यतिबेला कांग्रेस आफैं बन्धकजस्तै छ । कांग्रेसमा हाल देखिनेगरी तीन गुट सक्रिय छन् ।
पार्टीको १३औं महाधिवेशनपछि कांग्रेसमा विभिन्न समूहमा तीन गुट देखा परे । महाधिवेशनका समयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सभापति पदका लागि उमेदवारी दिएपछि कांग्रेसभित्र त्यसैबखत अर्को समूहको नेतृत्व गर्दै नेता कृष्णप्रसाद सिटौलाले बैचारिक समूहका रूपमा तेस्रो धारको नेतृत्व गर्दै आफ्नो उम्मेदवारी घोषणा गरे ।
हाल आएर कांग्रेसभित्र कांग्रेसको इतिहाससँग जोडिएको कोइराला परिवारसमेत आफ्नो स्थानलाई दरिलो बनाउन सक्रिय रूपमा देखिएको छ । कांग्रेसभित्र नेता डा. शेखर कोइरालाले आफ्नो भूमिकालाई यो समूहबाट अगाडि देखाइरहेका छन् ।
उनीसँगै कांग्रेस महामन्त्री डा. शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत देशका विभिन्न भागमा हुने कार्यक्रमहरूमा एउटै मालामा जोडिन पुगिरहेका छन् ।
राजनीतिक विश्लेषकहरू कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा स्खलित हुँदै गैरहेको दाबी गर्छन ।
‘सभापति पनि देउवा, संसदीय दलको नेता पनि देउवा, प्रतिपक्षको नेता नै सत्ता पक्षको अंसियारजस्तो हुँदा कांग्रेस सांगठनिक, नेतृत्व र वैचारिक रूपमा कमजोर भयो,’ राजनीतिक विश्लेषक भन्छन् ।
सभापति र संसदीय दलको नेतामा हुनुपर्ने ऊर्जा सभापति देउवाले प्रधानमन्त्रीसँग लेनदेनमा साटेकाले समेत कांग्रेस प्रतिपक्षी भूमिकामा चुक्दै आइरहेको आरोप लाग्ने गरेको छ ।
कांग्रेसभित्र हाल संस्थापन समूहको नेतृत्वमा सभापति शेरबहादुर देउवा छन् । यस्तै, पूर्वसंस्थापन पक्ष दुई भागमा विभाजित छ । जसको नेतृत्व एउटा समूहको वरिष्ठ नेता पौडेलले गरिहरहेका छन् भने अर्को समूहको नेतृत्व सिटौलाले गर्दै आएका छन् ।
हाल आएर कोइराला परिवारको स्थानलाई स्थापित गर्न भन्दै डा. शेखर कोइरालासहित महामन्त्री शशांक कोइराला र नेतृ सुजाता कोइरालासमेत सक्रिय भूमिकामा अघि बढिरहेका छन् ।
धेरैले सभापति देउवा सतापक्ष र आफ्नै श्रीमतीको चंगुलमा फसेको कारण पार्टी र राजनीतिमा बदनाम भैरहेको बताउछन । सरकारले गरेका ठुला अनियमितामा पनि देउवाको संलग्नता देखिएपछि कतिपय ठुला काण्डमा पार्टी नै रक्षात्मक बन्नुपरेको केन्द्रीय सदस्यहरूले नै सार्वजनिक कार्यक्रममा बोल्दै आइरहेका छन् ।
त्यतिमात्र होइन कतिपय पार्टीकै नेताहरूले बताए अनुसार देउवाको सचिवालयमा काम गर्ने विभिन्न व्यक्ति र केहि आसेपासे नेताहरूले पनि उनलाई विभिन्न काण्डमा फसाएर बदनाम बनाउने काम गरिरहेका छन् ।